अदालतको आदेशपछि छुटे अरुण चौधरी


काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी बुधबार थुनामुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार चौधरीसहित अन्य दुई जनालाई छाडेको हो ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराइ हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

‘प्रतिवादीहरुको अनुसन्धान समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नु पर्ने, कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमा बुझी, कागज गराउनको लागि मिति २०८०.१०.२२ गते देखि लागु हुने गरी दुई दिनको म्याद थप गरी दिएको छ । यी प्रतिवादीहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिनभित्र यी प्रतिवादीहरुबाट अब बुझ्नुपर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्नु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४९६० बमोजिम यो आदेश गरी दिएको छ,’ अदालतको आदेशमा उल्लेख छ ।

सरकारी जग्गा अपचलन गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई केन्द्रीय अनुसन्धान ब्युरोले  गत बिहीबार पक्राउ गरेको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top