सम्पदाको डिजिटल संरक्षण प्रवर्द्धन र अभिवृद्धिका लागि ‘मेसोभिसनको सम्पदा परियोजना’


काठमाडौं । सूचना प्रविधि कम्पनी मसोभिसन टेक्नोलोजी प्रा.लि. ले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको डिजिटल संरक्षण, प्रवर्द्धन तथा अभिवृद्धिका लागि सम्पदा परियोजनालाई शुक्रबारबाट औपचारिक रुपमा प्रारम्भ गरेको छ ।

कम्पनीले व्यवसायिक सामाजिक उत्तरदायित्व (सी.आर.एस) अन्तर्गत शुरु गरेको परियोजनाबाट समृद्ध सांस्कृतिक र धार्मिक धरोहरहरूको डिजिटल संरक्षण र प्रवर्द्धन हुने अपेक्षा लिएको छ । ‘यसबाट नेपालको ऐतिहासिक तथा सांस्कृतिक वैभवले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थप पहिचान प्राप्त गर्ने अपेक्षा गरेका छौं,’ मेसोभिसन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नारायण क्षेत्रीले बताएका छन् ।

नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय सरकार, स्थानीय र सामुदायिक संघसंस्थाहरुको सहकार्यमा यो परियोजना सञ्चालित गरिएको छ । जसका लागि कम्पनीले ‘कहाँ’ नामको एपसमेत सञ्चालनमा ल्याएको छ ।

नेपालको विकास बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार विकासका लागि विनियोजित हुँदा सम्पदाको संरक्षणको विषय सँधै ओझेलमा पर्दै आएको छ । ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण विषयलाई डिजिटल संरक्षणका लागि स्रोतको प्रभावकारी बिनियोजन गरेर मेसोभिसन टेक्नोलोजीले अहिले देखिएको समस्यालाई समाधान गर्न खोजेको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत क्षेत्रीको तर्क छ ।

मेसोभिसनले सी.एस.आर अन्तर्गत सञ्चालन कार्यक्रममा सबैले निःशुल्क सहज रुपमा ‘कहाँ’ एप प्रयोग गर्न पाउने छन् । ‘कहाँ’ एप प्राविधिक रुपमा उन्नत मात्रै नभएर यस एपले सम्पदाको संरक्षण तथा प्रवर्द्धनको प्रयासमा स्थानीय समुदायको स्वामित्व र जिम्मेवारीको भावना समेत उत्पन्न गराउने उद्देश्य तय गरिएको छ ।

यस एपले नेपाली सम्पदाका डिजिटल डकुमेन्टेसनमा भएको कमीलाई पुरा गर्ने छ । ‘कहाँ’ एपले सम्पदाको संरक्षण, डिजिटलाइजेसन र अभिलेखीकरण गर्ने प्रक्रियाको विधि निर्माण गर्ने र नेपालको सम्पदा, विश्वव्यापी डिजिटल पहुँच पुर्याउने योजना राखेको छ ।

कम्पनीले सम्पदा परियोजनामार्फत ल्याको ‘कहाँ’ एपमा विभिन्न विशेषतालाई समावेश गरेको छ । यसमा राखिएको जानकारी आधिकारिक स्रोतबाट ल्याइने हुनाले विषयवस्तु विश्‍वसनीय हुनेछ दाबी कम्पनीको छ । यसमा नेपाली, अङ्ग्रेजी, हिन्दी, चाइनिजसहित विभिन्न भाषाहरूमा जानकारी पाउन सकिनेछ भने प्रयोगकर्ताको सहजताका लागि शब्दलाई आवाजमा रूपान्तरण गर्न सक्ने गरि निर्माण गरिएको छ ।

सम्पदाको फोटो, भिडियो र ३६० डिग्री भ्युको सुविधा प्रयोग गरेर त्यसमा वृहत श्रव्यका प्रयोग गरिएको छ । प्रयोगकर्ताले यस एपमा रहेको च्याट सुविधा प्रयोग गरेर स्थानीय समुदायसँग सम्बन्ध बनाउने र अन्तरक्रिया गर्न सक्नेछन् । त्यसैगरी एपको लोकेसन सेयरिङ तथा नेभिगेसनबाट तथा सम्पदा क्षेत्र पत्ता लगाउन र पुग्न सकिनेछ साथै एपमा रहेको नोटिस बोर्डबाट अद्यावधिक जानकारीबाट सुसूचित हुनेछ र क्युआर जेनेरेसन तथा कहाँमा ट्याग गरि सूचना शेयर गर्न सकिने छ ।

 

यस एपमार्फत कम्पनीले दीर्घकालीन सोच र दिगो सांस्कृतिक संरक्षणको प्रयासतर्फ मापदण्ड स्थापित गर्ने आशा लिएको छ । यस एपको प्रयोगले स्थानीयसँगै विश्वभरका मानिस लाभान्वित हुने अध्यक्ष क्षेत्रीले विश्वास गरेका छन् । सामुदायिक विकास, डिजिटल नेटवर्किङ र सम्पदा संरक्षणमा सिर्जनशील समाधानका लागि कम्पनीले प्रतिबद्धता जनाएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top