राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क निस्किए प्रधानमन्त्री बालेन !


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहकाे याे पहिलाे विदेश भ्रमण हाे । परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै अमेरिका प्रस्थान गरिसकेका छन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ कतार एयरवेजको विमानमार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।  प्रधानमन्त्री शाहले असाेज ८ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । सम्बाेधनमा उनले जलवायु परिवर्तनले नेपालले भाेगेकाे विषय उठान गर्नेछन् ।

महासभामा उनले नेपालमा जलवायुका कारण उत्पन्न समस्या, विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका नेपालजस्ता गरिब र संवेदनशील देशहरूले भोग्नुपरेको अन्यायकाे विषय पनि उठान गर्नेछन् ।  गत भदाै १० गते चीनकाे तिब्बतबाट आएकाे विनाशकारी बाढीबाट नेपालले मानवी तथा भाैतिक क्षति व्यहाेर्नुपरेकाे थियाे ।

यस्ताे छ कार्यतालिका

प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछन् ।

प्रधानमन्त्री शाह दोहाबाट स्थानीय समयअनुसार बुधबार १ः४५ बजे न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् । उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरनलगायतका अधिकारीहरूले स्वागत गर्नेछन् ।

सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन् । त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्का लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले ब्रिफिङ गर्नेछन् । त्यसलगत्तै प्रधानमन्त्री शाह उनको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ ।

असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

असोज ९ गते प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नेछन् । उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत अरनलगायतका अधिकारीहरूले बिदाइ गर्नेछन् ।

अर्थमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् । प्रधानमन्त्रीको अनुपस्थितिमा वाग्लेले कार्यवाहक प्रधानमन्त्रीका रूपमा सरकारको दैनिक कार्यसम्पादन सम्हाल्नेछन् । प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top