काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबार पुगेर जिम्मेवारी सम्हालेका हुन्। जिम्मेवारी सम्हालेपछि उनले आफू दिनरात नभनी काम गर्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘यो विज्ञान प्रविधिको विकासको लागि ढिलो–ढिलो हिँडेर ठाउँमा पुगिँदैन। एकदम द्रुत गतिमा रात–दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ पनि।’ उनले सरकारको कार्यकाल ५ बर्ष भएपनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने बताए। उनले थपे, ‘मैले अब जे जति गर्न सकिन्छ, सकेसम्म रात–दिन काम गर्छु। यो सरकार ५ वर्षको हो। म बढीमा ३ वर्ष बस्ने यहाँ घोषणा गर्छु।’
उनले तीन वर्षमा मन्त्रालयमा राम्रो जग बसाले नयाँ युवा नेताहरूलाई हस्तान्तरण गर्ने बताए।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रालयमै सुत्ने र बस्ने बताए । ‘यहीँ सुत्ने हो । यहीँ बस्ने हो । सरकारल क्वार्टर दियो भने जाने हो । सरकारले तुरुन्तै क्वार्टर दिनेवाला पनि छैन त्यो मलाई थाहा छ,’ उनले भने, ‘क्वार्टरमा भन्दा यहीँ बस्न पाएँ भने खुसी । जाँगर चले काम गर्ने हो । नभए सुत्ने हो । अनि जाँगर चल्छ फेरि उठेर काम गर्ने हो । मेरो तरिका यो छ ।’






