गृहमन्त्री सुधन गुरुङ र विवादास्पद भट्ट र शंकर सँग ‘व्यापारिक साझेदार’, बर्खास्त गर्न माग !


काठमाडौं। सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्टको समूहको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री सुधन गुरुङसमेत लगानीकर्ता रहेको खुलेको छ।

सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका भट्ट र विवादास्पद शंकर समूहको लगानी रहेको सो कम्पनीमा गृहमन्त्री गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको दियो पोस्टले प्रारम्भमा सार्वजनिक गरेको हो। स्टार भट्ट र शंकर समूहबाटै सञ्चालित माइक्रो लाइफ इन्स्योरेन्स हो। यसको सञ्चालक समितिको अध्यक्षमा सुजन आचार्य छ। सञ्चालकहरूमा लोबुचे इन्भेस्टमेन्टको तर्फबाट श्रीमती श्रेया रुंगटा, प्रजुती बज्राचार्य र घान्द्रुक इन्भेस्टमेन्ट प्रालिका तर्फबाट सिता प्रसाद पोखरेल छन्।

गुरुङको हामी नेपाल र भट्ट समूहबीच यस अगाडि नै सम्बन्ध खुलेको थियो। हामी नेपालले भट्टसहितलाई सम्मान गरेको विषय र जेनजी आन्दोलनमा उनको सहभागीतापछिको शंकास्पद सम्बन्ध लगायतका विषयमा उकेरा नामक अनलाइनले निरन्तर समाचार प्रकाशित गर्दै आइरहेको थियो ।

अहिले सर्वत्र उपलब्ध सेयर लगत विवरणमा उनीहरुबीच साझेदारी समेत रहेको देखिन्छ। तर हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको गुरुङको सम्पत्ति विवरणमा स्टार माइक्रोमा रहेको लगानीबारे केही उल्लेख गरेका छैनन्।

त्यसमा होप होल्डिङ्स प्राली, लगुम प्रिमियम अपार्टमेन्ट र एड्भेन्चर भिल्ला प्रालीमा लगानी रहेको मात्र उल्लेख छ। स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा समेत उनको लगानी देखिन्छ। यसले उनले सम्पत्ति विवरण लुकाएको देखिन्छ।

सेयर लगतको ४९ नम्बरमा गुरुङको विवरण छ त्यसमा उनको ठेगाना चुमुनुब्री-२, गोरखा उल्लेख छ। सम्पत्ति विवरणमा पनि उनले सोही ठेगाना राखेका छन्। बाबुको नाम दिलबहादुर गुरुङ उल्लेख छ। सम्पत्ति विवरणमा पनि उही छ।

आर्थिक सुशासन र बिचौलियातन्त्रको अन्त्य गर्ने नारासहित ‘जेनजी’ आन्दोलनबाट राजनीतिमा उदाएका गुरुङ आफैँ बिचौलिया र ठूला व्यापारिक घरानाको साझेदार देखिएपछि बालेन शाह नेतृत्वको सरकारमाथि नैतिक प्रश्न उठेको छ।उनको सम्पत्तिको स्रोतबारे प्रश्न उठ्दा सामाजिक सञ्जालमा गुरुङले “गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो” भन्दै लेखेका थिए।

शंकर समुह र भट्ट समूह लगायतसँगको कनेक्शन:

हिमालखबरमा प्रकाशित रिपोर्ट अनुसार न्युन आय भएको जनताको बीमामा पहुँच पुर्याउने नाममा तत्कालिन विमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले भट्ट समुह र अग्रवाल घारानालाई मात्रै फाइदा पुग्ने गरि ७ लघु बिमा कम्पनिको लाइसेन्स वितरण गरेको थियो । लाईसेन्स दिने सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही समयमा सेटिंगमा लिइएको लाइसेन्सवाला कम्पनिमा गृहमन्त्रीको साझेदारी देखिएको हो ।

कम्पनि रजिष्ट्रार कार्यालय स्रोतबाट प्रमाण अनुसार यो कम्पनिमा अधिकांश लगानीकर्ता भट्टकै तर्फबाट विभिन्न कम्पनिमा प्रतिनिधित्व गर्नेहरुको छ । दिपक भट्ट मुछिएको विवादास्पद कम्पनि हिमालयन लाईफ ईन्स्योरेन्सका तत्कालिन प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णकी छोरी अदिति कर्णको नाममा २ लाख रुपैयाँ बराबरको शेयर रकम रहेको शेयर लगतमा देखिन्छ । दिपक भट्टका लागि अर्थमन्त्रालयमा बसेर करका दर हेरफेर गरेको अभियोग लागेका तत्कालिन सुब्बा रघुनाथ घिमिरेको छोरी रशा घिमिरेको नाममा पनि १ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ । सुब्बा घिमिरे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड १४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा समेत दायर गरेको थियो ।

सम्पत्ति सुद्धिकरण कसुरमा पक्राउ परि छुटेका शंकरलाल अग्रवालको बहिनी रेनु अग्रवालकी कान्छि बुहारी श्रेया रुङ्गटाको नाममा रहेको लुबुचे ईन्भेष्टमेन्टको १५ प्रतिशत सेयर स्टार माइक्रो ईन्स्योरेन्समा छ ।

स्टारका प्रमुख दुई लगानीकर्ता मध्ये घान्द्रुक इन्भेस्टमेन्टको १५ प्रतिशत शेयर स्वामित्व देखिन्छ । २०७९ भदौ ३० मा दर्ता लोबुचे इन्भेस्टमेन्ट श्रेया रुङ्गटाको नाममा छ । श्रेयाका पति आयुष गुप्ता जगदम्बा ग्रुपको कार्यकारी निर्देशक रहेको शंकर समूहको आधिकारिक वेबसाइटबाट खुल्छ । घान्द्रुक इन्भेस्टमेन्ट रेनुकै नाममा छ । स्टार लघु बीमाको अर्को लगानीकर्ता जगदम्बा इन्टरप्राइजेजमा रेनु सहित रमेश अग्रवाल र अनिल रुङ्गटाको शेयर स्वामित्व छ । वेभसाइटमै जगदम्बा स्टिल उत्पादक कम्पनि जगदम्बा ईन्टरप्राइजेजको स्वामित्व शंकर समुहको रहेको देखिन्छ ।

त्यस्तै अनलाइन खबर नेपालको स्वामित्वमा रहेको रेमी क्याफफिनको पनि यो कम्पनिमा सेयर रहेको लगतमा देखिन्छ । २०७९ भदौ २३ मा दर्ता भएको देखिएको यो कम्पनि प्रतिष्ठित अनलाइन खबर डटकम पनि यसैको स्वामित्वमा छ । यसले मिडियामा समेत दिपक भट्टको प्रभाव रहेको स्पष्टै बुझ्न सकिन्छ ।

न्यु बिजनेश ऐज नामक मिडियामा शंकर समुहकै पारिवारिक सदस्य तथा जगदम्बा समुहको निर्देशकको रुपमा रहेकी सुभी अग्रवाल प्रोफाइल छाप्ने मदन लम्सालले पनि यो कम्पनिमा शेयर पाएका छन् । दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले फरार सूचीमा राखि अभियोग पत्र दर्ता भएका यति समुहका अध्यक्ष लाक्पा सोनाम शेर्पा पनि यो कम्पनिका शेयर होल्डर हुन् ।

त्यस्तै २५ करोड रुपैयाँ भन्दा बढि राजश्व छलीमा मुछिएर अनुसन्धानमा रहेको भगवती लामिनेट्स प्रा.लीका संचालक रजनीश करनानी पनि गृहमन्त्री गुरुङका व्यावसायीक साझेदार हुन् । करनानीको १० लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । नेपाल प्रहरीका पूर्व एआइजी हरि बहादुर पालको नाममा पनि १ लाख रुपैयाँको सेयर यो कम्पनिमा रहेको छ । विचौलिया भट्टकै नातेदार रामचन्द्र भट्टपनि गृहमन्त्री गुरुङका साझेदार हुन् । उनको पनि यो कम्पनिमा ५ लाख रुपैयाँको शेयर देखिन्छ ।

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग :

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने उल्लेख गरिएको छ।

वक्तव्यमा मन्त्रीको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरिएको छ। जेनजी मुभमेन्टले मन्त्री नियुक्त गर्ने र फेरि हटाउने विषयलाई कच्चा र अमर्यादित खेल नबनाउन समेतर बालेन शाह नेतृत्वको सरकारसँग आग्रह गरेको छ। क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएको भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।

‘यो कुनै साधारण सरकार होइन, यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,’ वक्तव्यमा भनिएको छ, ‘जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन।’ मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी समेत दिएको छ।

विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि गुरुङ विवादमा छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top