काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।
आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।
उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो (शनिबार) बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो ।
आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए ।
दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज आइतबार बिहानमात्रै पक्राउ परेका उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थियो । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।






