ट्रम्पले भने– क्यानाडा र अमेरिका मर्ज हुन सक्छ, कार्नीले हाँसेरै टारे


काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी यस वर्ष दोस्रो पटक अमेरिका भ्रमणमा पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनलाई स्वागत गर्न ह्वाइट हाउसको गेटमै पुगेका थिए।

प्रधानमन्त्री कार्नीसँग क्यानडाका व्यापारमन्त्री डोमिनिक ले ब्लाङ्क, विदेशमन्त्री अनिता आनन्द र उद्योगमन्त्री मेलानी जोली पनि अमेरिका पुगेका छन्।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मजाकमा भने, ‘क्यानाडा र अमेरिका मर्ज (विलय) हुन सक्छन्।’ कार्नीले मुस्कुराउँदै यो मजाक टारे र भने, ‘हामी ट्रम्पको गाजा–इजरायल शान्ति योजनाको समर्थन गर्छौं, क्यानडा यसमा सहयोग गर्न तयार छ।’

कार्नीले ट्रम्पप्रति आभार व्यक्त गर्दै भने, ’ट्रम्प विशेष राष्ट्रपति हुन्। उनले नाटोका देशहरूलाई रक्षा खर्च बढाउन प्रेरित गरे र इरानलाई कमजोर बनाए।’

ट्रम्पले पनि कार्नीको प्रशंसा गर्दै हाँस्दै भने, ’क्यानडाली प्रधानमन्त्रीले मलाई निकै प्रसिद्ध बनाए।’

उनले थपे, ‘हाम्रो सम्बन्ध सधैं राम्रो रहेको छ, यद्यपि केही स–साना असहमतिहरू छन्, जुन हामी मिलाएर अघि बढ्नेछौं।’ ट्रम्पले आजको छलफलमा भन्सार शुल्कको विषयमा पनि कुरा हुने जानकारी दिए तर उनले क्यानडामाथिको ट्यारिफ हटाइने बारे केही उल्लेख गरेनन् ।

गाजा युद्धबारे कुरा गर्दै ट्रम्पले भने, ‘त्यहाँ शान्ति सम्भव छ। हाम्रो टोली त्यसतर्फ काम गर्दैछ र विश्वका धेरै देशहरू हाम्रो शान्ति योजनामा सामेल छन्।’ उनले थपे, ‘निकट भविष्यमै केही ठूलो घटना हुन सक्छ, तर त्यतिबेलासम्म अमेरिका र क्यानडा बीच केही नयाँ व्यापारिक सम्झौता हुनेछ।’

सटडाउनबारे के भने ?

अमेरिकामा जारी सरकारी सटडाउनबारे प्रश्नमा ट्रम्पले भने, ‘हामी आफ्ना कर्मचारीहरूको ख्याल राख्नेछौं। तर केही व्यक्तिहरू जसले राम्रो काम गरेका छैनन्, उनीहरूका लागि फरक व्यवस्था हुनेछ।’

ट्रम्पले क्यानडासँगको व्यापार विभिन्न असहमतिहरूका कारण चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले थपे, ‘म क्यानाडा र त्यहाँका जनतालाई माया गर्छु।’

ट्रम्पले भने, ‘दुवै देशबीचको सम्बन्ध पछिल्ला वर्षमा निकै सुधारिएको छ र बाँकी असहमतिहरू पनि हामी मिलाउनेछौं ।’ स्टील भन्सार शुल्क बारे उनले भने, ‘म चाहन्छु कि अमेरिका आफ्नो स्टील आफैं उत्पादन गरोस्, तर त्यसले क्यानडालाई पनि फाइदा पुगोस्।’

कार्नीको दोस्रो भ्रमण

समाचार संस्था एएफपीका अनुसार,  कार्नीले अप्रिलपछि ओभल अफिसमा दोस्रो पटक आइपुगेका हुन् ।  अन्य अमेरिकी सहयोगीहरू जस्तो क्यानडाले अझै पनि ट्रम्पको व्यापार युद्धबाट पार पाउनका लागि वाशिङ्टनसँग सम्झौता गरेको छैन।

६० वर्षीय पूर्व केन्द्रीय बैङ्कर एक वर्ष न्दा कम समय अघि राजनीतिमा प्रवेश गरेका थिए तर अहिले घरेलु रूपमा बढ्दो आलोचनाको सामना गरिरहेका छन् । उनले आफ्नो व्यापक सङ्कट व्यवस्थापन अनुभवको बारेमा अभियान चलाएका थिए ।

एक दिनअघि ट्रम्पले कार्नीको भ्रमणबारे सोधिएको प्रश्नमा भनेका थिए, ‘मलाई लाग्छ उहाँले करको बारेमा छलफल गर्न चाहनुभएको छ किनकि क्यानडाबाट धेरै कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सर्दैछन्।’

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ७९ वर्षीय ट्रम्पले क्यानाडालाई ‘५१ औँ राज्य’ बनाउने धारणा राखेका थिए भने हालसालै आफ्नो उक्त इच्छा दोहोर्‍याएका थिए । यो मुद्दाले कार्नीको अघिल्लो भ्रमण अघि तनाव निम्त्याएको थियो।

क्यानाडा सरकारले भनेको छ, ‘कार्नीको भ्रमणको क्रममा उहाँले द्विपक्षीय सम्बन्ध पुनर्स्थापना गर्न र ‘क्यानाडा र संयुक्त राज्य अमेरिका बीचको नयाँ आर्थिक र सुरक्षा सम्बन्धमा साझा प्राथमिकताहरू’ बारेमा छलफल गर्नुहुनेछ।’

बेलायत र युरोपेली सङ्घजस्ता अमेरिकाका अन्य सहयोगीहरू जस्तो क्यानडाले आफ्नो उत्तर अमेरिकी छिमेकीसँग विस्तृत व्यापार सम्झौताका लागि सम्झौता गरेको छैन।

संयुक्त राज्य अमेरिका क्यानाडाको मुख्य आर्थिक साझेदार हो, क्यानाडाको निर्यातको ७५ प्रतिशत यसको दक्षिणी सीमामा बेचिन्छ। दोस्रो त्रैमासिकमा क्यानडाको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घटेको छ ।

ट्रम्पले यसअघि नै काठ, आल्मुनियम, स्टिल र सवारी साधनमा कर लगाइसकेका छन् । सोमबार उनले नोभेम्बर १ देखि सुरु हुने गरी ठूला ट्रकमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top