टोप बहादुरको पक्षमा पनि हस्ताक्षर सङ्कलन, राजनीतिक प्रतिशोध साँधिएको आरोप


काठमाडौं । नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीको पक्षमा पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका रायमाझीको पक्षमा उनकै गृहजिल्ला अर्घाखाँचीका युवाहरूले हस्ताक्षर अभियान सञ्चालन गरेका हुन्।

युवाहरूले रायमाझीका प्रति पनि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्। उक्त प्रकरणमा रायमाझीसँगै मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण छुट्दा रायमाझी थुनामै राखिएको र त्यो राजनीतिक प्रतिशोध भएको हस्ताक्षर सङ्कलनकर्ताहरूले बताएका छन्।

‘क्यूआर कोड पर्दैन, अर्घाखाँचीका सङ्घीय सांसद टोप बहादुर रायमाझीमाथि साँधिएको राजनीतिक प्रतिशोधको विरुद्धमा हस्ताक्षर गरौँ,’ युवाहरूले सञ्चालन गरेको अभियानका क्रममा भनिएको छ। अर्घाखाँचीका पत्रकार दीपेन्द्र पौडेलका अनुसार यो अभियान जिल्लाको सन्धिखर्कका युवाहरूले स्वत:स्फूर्त रूपमा सञ्चालन गरेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान थालेको छ। जुन अहिले पनि जारी छ। रास्वपाले पार्टी सभापति लामिछानेका प्रति राज्यले राजनीतिक प्रतिशोध साँधेको र त्यसका विरुद्धमा हस्ताक्षर सङ्कलन गरिरहेको तर्क गरेको छ।

यसलाई मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले ‘अदालतको अवहेलना’को रूपमा व्याख्या गरेका छन्। कांग्रेस-एमालेले अदालतबाट नटुङ्गिएको विषयमा प्रभाव पर्ने गरी हस्ताक्षर सङ्कलन गरिएको बताइरहेको अवस्थामा एमालेकै नेता रायमाझीको पक्षमा हस्ताक्षर सङ्कलन थालिएको हो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top