एमाले बन्यो झोलेको पार्टी ! चल्यो ‘झोले’ ट्रेन्ड, आखिर किन ?


काठमाडौं । नेकपा एमालेमा ‘झोले’ ट्रेन्ड सुरु भएको छ । प्रधामन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ‘म झोले हो’ लेखेको आफ्नो तस्विरसहितको पोस्टर सार्वजनिक गरेपछि अन्य नेता कार्यकर्ताले सोही डिजाइनमा आफ्नो फोटो राखेर तस्विर सार्वजनिक गरेका हुन् ।

गत शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू एमालेको झोले भएको बताएका थिए । त्यस्तै उनले आफू झोले हुनुमा गर्व रहेको समेत बताएका थिए । “म एमालेको झोले हुँ । यतिभन्दा एमालेको विरोधीहरुलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ”, अध्यक्ष ओलीले भनेका थिए ।

उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो । एमाले वर्गले अध्यक्ष ओलीको अभिव्यक्तिको बचाउ गर्दै देश विकास र परिवर्तनको खाका बोकेको झोले हुनुमा गर्व रहेको बताएका थिए भने विपक्षीहरुले आलाेचनात्मक टिप्पणी गरेका थिए ।

पक्ष र विपक्षमा सामाजिक सञ्जालमा चर्चा भइरहँदा अध्यक्ष ओलीले सोमबार सामाजिक सञ्जालमा एउटा पोस्टर राखेका छन् । जहाँ आफ्नो तस्विर राखिएको छ र तस्विरको मुनिपट्टि ठूलो अक्षरमा लेखिएको छ, ‘म झोले हो ।’

त्यस्तै त्यसभन्दा तल २ लाइनमा लेखिएको छ, ‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो ।’

अध्यक्षले नै सो पोस्टर राखेपछि एमालेका नेता, कार्यकर्ताले पनि सोही पोस्टरमा आफ्नो तस्विर राख्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

‘झोले’ शब्द नेपालीको मुखमुखमा झुण्डिएको शब्द हो । यसको अर्थ सन्दर्भअनुसार फरक–फरक हुन सक्छ। मुख्य रूपमा ‘झोले’ लाई व्यंग्यात्मक, निन्दात्मक, वा कहिलेकाहीँ हास्यात्मक अर्थमा प्रयोग गरिन्छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली शब्दकोषका अनुसार ‘झोले’को अर्थ अर्काको झोला बोक्ने, झोला भिरेर हिँड्ने व्यक्तिलाई भन्ने गरिन्छ ।

त्यस्तै हामीले ‘झोले’को अर्थ च्याटजीपीटीलाई समेत सोधेका थियौँ । च्याटजीपीटीका अनुसार झोलेको अर्थ आफ्नै हैसियत नभएको, अरूको नाममा बाँच्ने व्यक्ति र नेताको पिछलग्गु व्यक्ति रहेको छ ।

यद्यपी पोस्टर पोस्ट गर्दै अध्यक्ष ओलीले भने सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोड्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’

हेर्नुहोस् एमालेका केही नेता कार्यकर्ताको झोले ट्रेन्डः


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top