काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेका टिप्पणीहरूप्रति प्रतिक्रिया जनाएका छन्। उनले “म झोले हुँ” भन्दै आलोचनालाई व्यङ्ग्यात्मक ढंगले खण्डन गरेका छन्।
ओलीले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै भनेका छन्, “हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ।”
उनको भनाइमा, सामाजिक सञ्जालमा केही व्यक्तिहरूले सामूहिक रुपमा आक्रमण गर्दै अरूको व्यक्तिगत विचारलाई खारेज गर्ने प्रवृत्ति बढ्दै गएको छ। उनले थप भनेका छन्, “भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं।”
ओलीले राजनीतिक विचारधारा र व्यक्तिगत निष्ठालाई सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै, “सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ,” भनेका छन्।
उनको यो अभिव्यक्ति हालसालै सामाजिक सञ्जालमा एमाले र ओली समर्थकहरूलाई लक्षित गर्दै ‘झोले’ भन्ने शब्दको व्यापक प्रयोग भइरहेको सन्दर्भमा आएको हो। ओलीको स्टाटसले सामाजिक सञ्जालमा पुनः बहस सिर्जना गरेको छ, जहाँ कतिपयले उनको भनाइलाई सही ठानिरहेका छन् भने केहीले आलोचना पनि गरिरहेका छन्।







