काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् । आजै नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो । तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम स्थगित गरिएको छ ।
‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौं’, राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।

सरकारविरुद्भ नाराबाजी
संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै उनका समर्थकहरुले नाराबाजी गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनी पक्राउ परेपछि कार्यकर्ताहरू प्रज्ञा प्रतिष्ठान परिसरमै नाराबाजी गरिरहेका छन् । उनीहरुले त्यहीँ ‘नश्लवादी सरकार मुर्दावाद’का नारा लगाइरहेका छन् ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । काठमाडौं प्रहरी परिसरका एक अधिकृतका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो ।


रञ्जिताले भनिन् छिट्टै छुट्नुहुन्छ
संरक्षक रेशम चौधरी को पक्राउबारे नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी छिट्टै रिहा हुने बताएकी छन् । अध्यक्ष श्रेष्ठले रेशम छिट्टै रिहा हुने बताएकी हुन्। ‘रेशमजी छुट्टै छुट्नु हुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,’ उनले नेता कार्यकर्तालाई आह्वान गरेकी छन्।
प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका रेशम चौधरीलाई डिल्ली बजार कारागारमा राखिएको छ। टीकापुर घटनासम्बन्धी मुद्दामा सर्वोच्चले पत्र काटेपछि उनी पक्राउ परेका थिए। सादा प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरी सिधै डिल्ली बजार पुर्याएको थियो।









