रविजीसँगै छलफल गरेर राजीनामा दिएकी हुँ : सुमना श्रेष्ठ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँगै छलफल गरेर सहमहामन्त्री पदबाट राजीनामा दिएको स्पष्टीकरण दिएकी छन् ।

बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘मैले पार्टीबाट राजीनामा दिएको होइन, मैले केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा दुई हप्ता अगाडि राजीनामा दिएको हुँ ।’

रवि लामिछाने सभापति पदमा फर्किएकै दिन भेटे गरेर आफूले राजीनामा बुझाएको उनले बताइन् ।

‘उहाँ जिम्मेवारीमा आउनुभएपछि हामी एकदम एक्साइटेड थियौं, उहाँले त्यसबेला पार्टी महाधिवेशन त्यही समयमा हुन्छ भनेर भन्नु भएको थियो’, उनले थपिन्, ‘त्यस्तोमा एकैव्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुन्छ भन्ने हिसाबले छलफल भएपछि मैले राजीनामा दिएको थिएँ ।’ यद्यपि, आफ्नो राजीनामा प्रक्रियामा अघि नबढेको उनले बताएकी छन् ।

सभापतिले समेत पछिल्लो बैठकमा पार्टीलाई ‘अब म्यासिभ रिफर्म’मा लैजानुपर्छ भनेको स्मरण गराउँदै उनले भनिन्, ‘उहाँले आफ्नो पदबाट डेलिभरी दिन सकिँदैन भने सोचौं है भनेर भन्नुभएको हो । त्यही स्पिरिटमा दुई हप्ता अगाडि दिएको मैले राजीनामा दिएको हो ।’

छलफलपछि लामिछानेकै सहमतिमा राजीनामा दिएको उनले बताइन् । बरु अहिले फरक परिस्थितिमा आफ्नो राजीनामाको विषय बाहिर ल्याइएको भन्दै उनले असन्तुष्टि जनाएकी छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top