नेपाल बार एसोसिएसनमा कांग्रेस-एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला


काठमाडौं ।  नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहले क्लिनस्विप गरेको हो ।

अध्यक्षमा मिश्रले प्रतिद्वन्द्वी  नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

यस्तै महासचिवमा मिश्र प्यानलकै केदारप्रसाद कोइराला श्रेष्ठ प्यानलका राष्ट्रिय स्वतन्त्र पार्टीनिकट कानुन व्यवसायी यज्ञमणि न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन् ।

मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ विजयी भए ।

मतगणना सकिएसँगै दिउँसो १ बजे एक कार्यक्रममार्फत अन्तिम नतिजा सार्वजनिक गर्दै मिश्र समूहलाई विजयी घोषणा गरिने निर्वाचन अधिकृत तारा सिटौलाले बताए । निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top