काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीमा आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीच खेल हुँदैछ। प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि यो खेल आज दिउँसो पौने तीन बजेदेखि दुबईमा सुरु हुनेछ ।
भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि भारतका सबै खेल युएईमा हुँदैछन् । पाकिस्तानमा २९ वर्षपछि आइसिसी प्रतियोगिता भए पनि उसले भारतविरूद्धको खेल भने देशबाहिर खेल्नु पर्ने बाध्यता छ । समूह ‘ए’ मा रहेका दुवै टोलीले यसअघि एक एक खेल खेलिसकेका छन् ।
जसमा भारतले बंगलादेशलाई पराजित गरेको थियो । तर पाकिस्तानले भने घरेलु मैदानमा न्युजिल्यान्डसँग हार ब्यहोरेको थियो । सेमिफाइनल सम्भावना कायम राख्न पाकिस्तानले आज भारतलाई पराजित पर्नु बाध्यता छ ।
एकदिवसीय खेलमा पाकिस्तानले भारतसँग पछिल्लो आठ वर्षमा तेस्रो खेल खेल्न लागेको छ । सन् २०१७ को पछिल्लो च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतमाथि १८० रनको जित निकालेको थियो । सन् २०२३ को विश्वकपमा भने भारतले घरेलु मैदानमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।
भारत र पाकिस्तानबीच सन् २०११ यता टी-२० र एकदिवसीयका कुल १३ वटा खेल भएका छन् । जसमा भारतले दुई खेल मात्र गुमाएको छ ।
सन् २०१७ को च्याम्पियन्स ट्रफी १८० रन र २०२१ मा भएको टी-२० विश्वकपमा १० विकेटको जित निकाल्नु बाहेक पाकिस्तानले भारतविरूद्ध ११ खेलमा हार ब्यहोरेको छ ।






