सुप्रिम सहकारी ठगी मुद्दा : रूपन्देही अदालतमा रवि लामिछानेको थुनछेक बहस आजदेखि


काठमाडौं ।  बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ । जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरूले बहस गर्नेछन् ।

सुरूमा सरकारी वकिलहरूले बहस गर्नेछन्। त्यसपछि जाहेरवाला सहकारी पीडित पक्षका वकिलले बहस गरेपछि प्रतिवादी पक्षका वकिलहरूको पालो आउँछ ।थुनछेक बहसमा १२ जनाभन्दा बढी सरकारी वकिलहरूले बहस गर्ने तयारी छ ।

पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन्। त्रिपाठी र भण्डारी पनि रूपन्देही पुगिसकेका छन् ।

रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेलले बहस गर्नेछन् । उनी बुधबार नै भैरहवा आइपुगेका छन् भने नारायण घिमिरे, सुशिल पन्तसहितका कानून व्यवसायीले पनि बहस गर्नेछन् ।

रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ । सुप्रिम सहकारीको बचत अपचलन मुद्दाका लागि लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश योगीले दिउँसो २ बजेदेखि लामिछानेसँग बयान लिएका थिए । बयान सकिएपछि लामिछानेलाई बिहीबार बिहान १० बजे हाजिर हुनेगरी श्रीमती र वकिलको जिम्मा लगाएर पठाइएको थियो ।

लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित १४ जना र यसअघि गते वैशाख ३ गते २८ जनामध्ये ८ जना गरी २२ जनालाई आइतबार सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो ।

यसअघि कास्की र काठमाडौं अदालतमा भएको थुनछेक बहसमा लामिछानेलाई धरौटीमा छाडिएको थियो । कास्की अदालतले लामिछानेलाई ६५ लाख र काठमाडौं अदालतले ६० लाख धरौटीमा छाडेको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top