चितवनमा युवा कुट्ने प्रहरी असई बुद्धिबहादुर, निलम्बन गरेर अनुसन्धान सुरू


काठमाडौं । प्रहरी प्रधान कार्यालयले मध्यरात सडकमा युवालाई मरणासन्न हुनेगरी बुटै बुटले कुट्ने प्रहरीलाई निलम्बन गरेको छ। सडकमा मोटरसाइकल रोकेर केही युवाहरुसँग कुरा गर्दै गरेको अवस्थामा एक प्रहरीले सडक किनारमा उभिएका युवालाई लात्ताले हानेर पेटीमा लडाएर ‘पावर देखाएको?, कसलाई फोन गर्ने, फोन गर’ भन्दै बुटैबुटले कुटेको भिडियो आइतबार भाइरल बन्यो।

लोकतन्त्र टाइम्सले उक्त घटनाबारे नेपाल प्रहरी र गृह प्रशासनको ध्यानाकर्षण गरायो ।  भिडियो सार्वजनिक भएसँगै प्रहरी प्रधान कार्यालयले मरणासन्न हुनेगरी कुट्ने प्रहरी असई बुद्धिबहादुर भुजेललाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी दिनेश आचार्यले जानकारी दिए।

‘भिडियो हामीले पनि हेर्यौँ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न देखिएका बुद्धिबहादुर भुजेललाई निलम्बन गरेर कारबाहीको लागि थप अनुसन्धान अघि बढाएका छौँ।’

भुजेलले ती युवालाई बुटै बुटले गोडामा, ढाडमा अनि टाउकोमा हानिरहेको भिडियोमा प्रस्ट देखिन्छ। भिडियो चितवन भरतपुरको रहेको हो भने कुट्ने प्रहरी भुजेल प्रहरी गणेशथान चौकीका इन्चार्ज हुन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top