काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ को दोस्रो संस्करण आज शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । नेपालको महिला टोली पनि यस विश्वकपमा पहिलोपटक सहभागी हुँदैछ ।
गत कात्तिकमा नेपाली यू–१९ महिला क्रिकेट टोलीले इतिहास रचेको थियो । युएईमा भएको एसिया छनोटमा पार गर्दै नेपाली टोली आइसिसी यू–१९ विश्वकपमा पुगेको थियो । यससँगै नेपालले पहिलो पटक महिला विश्वकपमा छनोट हुँदै इतिहास बनाएको थियो ।
विश्वकपमा छनोट भएपछि नेपालले गत महिना एसिसी यू–१९ एसिया कप खेल्यो। एसिया कपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै अर्को इतिहास रच्न सफल भयो ।यसरी तीन महिनामा दुई वटा सफलता हासिल गरेको नेपाली महिला टोली अहिले आइसिसी यू–१९ विश्वकप खेल्न मलेसियामा छ ।
चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्वकपमा नेपाल समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । उद्घाटन खेलमा नेपालले शनिबार नै बंगलादेशसँग खेल्दै छ । यो समूहबाट नेपाल कम्तिमा पनि सुपर–६ मा पुग्ने लक्ष्य बनाएर अर्को इतिहास कोर्ने अभियानमा छ ।
नेपालले शनिबार बंगलादेशसँग खेलेर विश्वकपमा डेब्यू गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बांगीमा दिउँसो सवा १२ बजे सुरू हुनेछ ।

‘इमानदारीतका साथ भन्नु पर्दा हामी सुपर–६ मा पुग्ने लक्ष्यसहित अघि बढेका छौं’ कप्तान पूजा महतोले मलेसिया उड्नुअघि बताएकी थिइन् । सुपर–६ मा पुग्न नेपालले समूहमा कम्तिमा एक टोलीलाई हराउनु पर्छ । त्यसका लागि नेपाली टोली तयार भएको पूजाको भनाइ छ ।
सन् २००४ मा नेपालले यू–१९ पुरुष विश्वकप खेल्दा सहायक प्रशिक्षक रहेका रिजाल अहिले प्रशिक्षकको भूमिकामा छन् । उनले नेपालले राम्रो तयारी गरेको बताउँदै घरेलु मैदानमा भएको अभ्यास खेलले पनि फाइदा पुगेको बताएका थिए । यस्तै विश्वकप खेल्नुअघि मलेसियामै एसिया कप खेल्न पाउनु अर्को राम्रो पक्ष भएको हो ।
नेपालले सन् २०२७ को यू–१९ महिला विश्वकपमा स्थान पक्का गरिसकेको छ । किनभने नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ विश्वकपको आयोजकको रुपमा प्रतियोगितामा पनि स्थान पक्का गरिसकेका हुन् । आगामी संस्करणमा स्वतस् स्थान पक्का हुनुअघि छनोट भएर नेपाली यू–१९ टोलीले आफूहरु विश्वकपका लागि हकदार भएको समेत प्रमाणित गरेका छन् ।
सन् २०२७ मा विश्वकपको आयोजना गरेसँगै नेपालले क्रिकेटको ग्लोबल इभेन्ट पहिलो पटक आयोजना गर्ने इतिहास पनि बनाउनेछ । सन् २०२३ देखि सुरु भएको यू–१९ विश्वकपको यो दोस्रो संस्करण हो। अघिल्लो संस्करणको छनोटमा नेपाल तेस्रो हुँदा छनोट हुन असफल भएको थियो ।

दोस्रो संस्करणको यो विश्वकपमा १६ टोलीले भाग लिँदैछन् । १६ टोलीलाई चार चार टोली सम्मिलिन चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समान तीन–तीन टोली सुपर–६ मा पुग्नेछन् । सुपर–६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्।
नेपालका खेल
नेपाल भर्सेस बंगलादेश – माघ ५
नेपाल भर्सेस स्कटल्यान्ड – माघ ७
नेपाल भर्सेस अस्ट्रेलिया माघ ९
नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ ।






