धनको आडम्बर नदेखाउने उद्यमी, भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन, श्रद्धाञ्जलीको ओइरो


काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।

उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।
यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिएका छन् । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।
धनको आडम्बर नदेखाउने उद्यमी
‘स्टोरी अफ टाटा’ पुस्तकका लेखक पीटर केसीका अनुसार टाटा ग्रूपका मूल्यमान्यतामा “पुँजीवाद र परोपकारको मिश्रण” पाइन्छ र “अरूको जीवनलाई थप राम्रो बनाउने गरी व्यवसाय गरेर” त्यो उद्देश्य प्राप्त गरिन्छ।
यस समूहको ‘होल्डिङ कम्पनी’का रूपमा रहेको ‘टाटा सन्स’मा कतिपय निजी तथा कतिपय सार्वजनिक व्यापार गर्ने कम्पनी भए पनि “मूलतः तिनीहरूमा पनि परोपकारी कोषको स्वामित्व छ,” उनी भन्छन्।
दिल्लीस्थित बीबीसी संवाददाता विकास पाण्डेका अनुसार धेरै भारतीयहरूले सामाजिक सञ्जालमा टाटाको निधनलाई “व्यक्तिगत क्षति”का रूपमा अर्थ्याएका छन्। त्यसको मुख्य कारण उनले कहिल्यै पनि धनको आडम्बर नदेखाउनु रहेको उनको भनाइ छ।
उनले लेखेका छन्, “महँगा कारका लामो लस्करमा उनी विरलै देखिए। न त उनी बलिवुड र क्रिकेट स्टारलाई घरमा बोलाएर समाचारमा छाए।” रतन टाटा सन् १९३७ मा भारतको एक उच्चशिक्षित तथा सम्पन्न परिवारमा जन्मिएका थिए। त्यसको तीन वर्षपछि उनका आमाबुवा छुट्टिएका थिए।
उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका गएका रतन टाटाले ‘आर्किटेक्चर’को अध्ययनसँगै गाडी र विमान चलाउन पनि सिके। हेलिकप्टर तथा हजाज चलाउँदा इन्जिनमा समस्या उत्पन्न भएका बेला आफूले ‘ग्लाइड’ गरेर बाँचेको उनले एक अन्तर्वार्तामा बताएका छन्।
पछिसम्म पनि उनी आफ्नो कम्पनीको जेट विमान आफैँ चलाउँथे। सन् १९६२ मा हजुरआमा लेडी नवाजबाई बिरामी परेर फिर्ता बोलाएपछि रतन टाटा भारत फर्किए। त्यति बेला उनकै परिवारका एक सदस्य जेआरडी टाटाले उनलाई टाटा ग्रूपमा सामेल हुन भने।
“उनी मेरा सबैभन्दा ठूला मेन्टर थिए। मेरा लागि उनी बुवा र दाजुजस्तै थिए, उनीबारे खासै कुरा गरिएकै छैन,” एक अन्तर्वार्तामा रतन टाटाले भनेका छन्।

श्रद्धाञ्जलीको ओइरो

रतन टाटाको निधन भएसँगै भारतमा मात्र नभएर विश्वमा अन्य क्षेत्रका उद्योगीव्यापारीले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनबाट आफू “अत्यन्त दुःखमा परेको” बताएका छन् भने विपक्षी कांग्रेसका नेता राहुल गान्धीले उनलाई “सपना भएको मानिस”का रूपमा सम्झेका छन्।

भारतका चर्चित उद्यमी मुकेश अम्बानीले “आफूले प्रिय मित्र गुमाएको” बताएका छन्। गुगलको माउ कम्पनी एल्फबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले रतन टाटाले “असाधारण व्यावसायिक तथा परोपकारी विरासत छाडेको” बताए। भारतका चर्चित खेलाडी तथा चलचित्रकर्मीले पनि उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।

भारतको महाराष्ट्र राज्य सरकारले टाटाको निधनमा राज्यभरि एक दिन शोक मनाउने र उनको ‘राजकीय अन्तिम संस्कार’ गरिने निर्णय गरेको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top