काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो।
संयुक्त राष्ट्रका महासचिव गुटेरेससंगको भेट फलदायी भएको प्रधानमन्त्री ओलीले बताएका छन्। संक्रमणकालीन न्यायदेखि जलवायु न्यायलगायत महत्वपूर्ण विषयमा छलफल भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्।
राम्रो भविष्यका लागि दुई नेताबीचको साझेदारीलाई बलियो बनाउन आफू तत्पर उनले बताएका छन्। प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत संलग्न छन् ।






