नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडी चयन, मार्की खेलाडीले जनही २० लाख पाउने, कुन टिमको को ?


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का आठ टोलीमा आबद्ध भएका मार्की खेलाडी घोषणा गरिएको छ ।

यसअघि क्यानले कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल मल्ल र कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा घोषणा गरेको थियो ।

आज काठमाडौंमा गोलाप्रथामार्फत् खेलाडी आबद्ध भएको टोली घोषणा भएको हो । जस अनुसार मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् । मार्की खेलाडी कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने करण केसी काठमाडौं फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

त्यसैगरी मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने हुँदा मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने तयारी छ । र त्यस्तै मार्की खेलाडी सोमपाल कामीले कर्णालीको कमान लिँदा, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने तय भएको छ ।

कुन टिमको मार्की खेलाडी को ?
सन्दीप लामिछाने – विराटनगर
आसिफ शेख – जनकपुर
कुशल मल्ल – चितवन
करण केसी – काठमाडौं
कुशल भुर्तेल – पोखरा
रोहित पौडेल – लुम्बिनी
सोमपाल कामी – कर्णाली
दिपेन्द्रसिंह ऐरी – सुदूरपश्चिम
क्यानले एक कार्यक्रमको आयोजना गरेर लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाएको हो । मार्की खेलाडीले पारिश्रमिक २० लाख रुपैयाँ पाउने बताइएको छ ।

एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन् । एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजना एनपिएल आफैले पहिलो पटक आयोजना गर्न लागेको हो । क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top