रसुवा विनाशकारी बाढी : क्षति कति ? अहिले सम्म के के भयो ?


काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा ठूलो विनाशकारी बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए । तर, क्षतिको विवरण आउन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी परियारले धेरै थोक नोक्सान भएको बताउाछन् । ‘अकास्मात बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ उनले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरु बगेको भन्ने आएको छ । बस्तीमा पनि बाढी पसेको खबर आएको छ । धेरै कुरामा क्षति भएको छ ।’

नेपाली क्षेत्रमा पानी नपरेकाले पारि (चीन) बाट आएको हुनसक्ने उनले बताए । ‘हाम्रो साइडमा ठूलो खालको ग्लेसर थिएन । पारीबाट आएको भन्ने छ,’ उनले भने, ‘यता पनि परेको थिएन । हिजो राति धुन्चे तिर अलि अलि परेको थियो । तर बाढी आउने गरी परेको छैन ।’

उद्धारमा समेत अहिले कठिनाइ भएको छ । ‘आर्मीको हेलिकप्टर निरीक्षणमा गइसकेको छ,’ उनले भने । थप क्षतिबारे बुझ्ने काम भइरहेको उनले बताए ।

अहिलेसम्मका क्षति कति ?

विहान ११ वजे सम्मका विवरण संकलन अनुसार रसुवा बाढीले निम्न अनुसार क्षति गरेको देखिन्छ :

प्रहरीका ३ कार्यालय बगायो

बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति आएको बताइएको छ । यी कार्यालय र त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुको विवस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् ।

उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए । रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ । उद्धारका लागि सुरक्षाकर्मी खटिए पनि यकिन विवरणहरू पाउन बाँकी छन् ।

विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द

बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्।

विद्युत उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको भन्दै आपूर्ति नियमित नहुन्जेल धैर्य गरिदिन उपभोक्तालाई आग्रह गरेको छ।

बाढीले विद्युतका संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राधिकरणले दिएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।

अहिलेसम्मका तयारी के के ?

बाढीको खबर आए लगत्तै स्थानीय तह र केन्द्रबाट निम्न प्रयासहरु जारी छन् :

सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै कम्पनीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएएको जानकारी दिएको छ भने नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।

पाँच जिल्लाका नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन गृहमन्त्रीको अनुरोध

गृहमन्त्री सुधन गुरूङले भोटेकोशी नदीमा आएको बाढीको असर पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेंसी सडक, मुग्लिङ-नारायणगढ सडकमा पूर्ण रूपमा आवतजावत रोक लगाउन अनुरोध गरेका छन् ।

मन्त्री गुरूङले आपत्कालीन सार्वजनिक सूचना जारी गरेका छन् । उनले केही परेमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउनु अनुरोध गरेका छन् ।

उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा सम्पर्क गर्न भनेका छन् ।

यस्तो छ सरकारको तयारी 

 तिब्बततर्फबाट आएको बाढीका सम्बन्धमा सरकारले हालसम्म चारवटा काम र तयारी गरेको छ ।

१. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन ।

२. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय ।

३. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन ।

४. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यी चार काम र तयारी भएको जनाएको हो ।

साथै, भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top