काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको छ । सो समूहले आयोजना गरेको तीन दिने भेला तथा सम्मेलनबाट अघि सारिएको ५ बुँदे प्रस्तावमा सनातन धर्मको संरक्षणको विषयलाई सम्वोधन गरिएको हो ।
निर्णयको तेस्रो बुँदामा भनिएको छ, ‘नेपालके सनातनदेखी चली चलिआएको धर्म सँस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहीआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरी चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।’
समापन कार्यक्रममा पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई केही नेताले हिन्दू राष्ट्रका विषयमा बोल्न आग्रह गरेका थिए । देउवाले आफ्नो भाषणमा आफू हिन्दू भएको पटक पटक बताए पनि हिन्दू राष्ट्रको पक्षमा खुलेनन् । भेलाको लिखित निर्णयमा हिन्दू राष्ट्रको पक्षधरता नलिए पनि सनातन धर्मको संरक्षणको कुरा गरेर मध्यमार्गी लाइन लिइएको हो ।
भेलाले वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधानमै भएको व्यवस्था अनुसार संम्बन्धित सबैसँग सम्वाद गरि निकाश दिने प्रस्ताव गरेको छ ।
यस राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना तथा सहयोगीमा केन्द्रीय सदस्य मीनवहादुर विश्वकर्मा र दीपक प्रसद कुइकेललाई तोकिएको छ ।






