निर्मल पुर्जासहित ब्रोड पिक हिमपहिरोमा हराएका सबै पर्वतारोहीको निधन !


काठमाडौँ । पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोका कारण निधन भएको छ। सोही दुर्घटनामा आरोहण दलका सबै सदस्यहरूको ज्यान गुमेको आरोहण टोली एलिट एक्स्पेडिसनले पुष्टि गरेको हो ।

निर्मल पुर्जा नेतृत्वको उक्त संस्थाले दुर्घटनामा उनीसँगै उनका सहकर्मी तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पालगायतका टोली सदस्यहरूले ज्यान गुमाएको शनिबार दिउँसो पुष्टि गरेको हो ।

एलाइट एक्सपेडिसनले शोक वक्तव्य सार्वजनिक गर्दै भनेको छ- ‘आज हामीले निम्सलाई मात्र नभई यस त्रासदीमा ज्यान गुमाउने हाम्रा विश्वासिला आरोहण साथीहरू र गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पा लगायत सबैलाई गुमाएका छौँ। यस अकल्पनीय क्षतिमा शोक सन्तप्त परिवारजन र आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

निर्मल पुर्जा उत्कृष्ट  र साहसी आरोही मानिन्थे । उनले आफ्नो अदम्य साहस, विनम्रता र “मानवीय क्षमता असीमित छ” भन्ने दृढ विश्वासका माध्यमबाट विश्वभरका करोडौँ मानिसहरूलाई प्रेरित गरेको एलाइट एक्स्पेडिसनले उल्लेख गरेको छ । उनले एलाइट एक्सपेड, निम्सदाइ फाउन्डेसन, स्काइडाभ निम्सदाइ र निम्सदाइ स्टोर जस्ता संस्थाहरू स्थापना गरेका थिए ।

कठिन र प्रतिकूल मौसमका बीच पनि खोजी तथा उद्धार कार्यमा खटिएका उद्धारकर्ता र सहयोग गर्ने सबै निकायहरूप्रति पनि एलाइट एक्सपेडले आभार व्यक्त गरेको छ ।

पाकिस्तानमा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममा बिहीबार बिहान करिब ९ बजेतिर हिमपहिरो जाँदा निर्मल पुर्जासहित १० जनाको आरोहण टोली सम्पर्कविहीन भएको थियो । उनीहरू ब्रोड पिक हिमालको क्याम्प-२ र क्याम्प-३ को बीचमा (करिब ६,६०० देखि ७,००० मिटरको उचाइमा) सम्पर्कविहीन भएका थिए ।

चुचुरोतर्फ अघि बढ्ने क्रममा आएको हिमपहिरोले टोलीलाई करिब हजार मिटर तलसम्म बगाएको र त्यसपछि टोलीको सम्पर्क विच्छेद भएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top