काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाकी नेतृ खुश्बु ओलीले सुनसरीको देवानगञ्जमा बोलबम यात्राका क्रममा भएको घटनामा गृह-प्रशासनले गोली चलाएकोमा आपत्ति जनाउँदै निष्पक्ष छानबिन गर्न र धार्मिक यात्रामा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत एक धारणा सार्वजनिक गर्दै उनले देशमा बढ्दै गएको धार्मिक तथा सामुदायिक संवेदनशीलतालाई राज्यले समयमै सम्बोधन गर्न नसकेको तर्क दिएकी छन् । सामुदायिक दंगामा पटक पटक हिन्दू पक्ष अत्याचारमा पर्ने गरेको उल्लेख गर्दै उनले संजाल मार्फत सरकारलाई प्रश्न गरेकी छन् ।
प्रारम्भिक चेतावनी र पूर्वसूचना प्रणाली किन प्रभावकारी हुन सकेन ? नागरिकको जीवन जोगाउने अन्तिम विकल्प हुनुपर्ने गोली प्रयोग किन आवश्यक बन्यो ? बोलबम यात्रामा सहभागी हिन्दू श्रद्धालुहरू नै किन हिंसाको प्रमुख पीडित बने ? धार्मिक संवेदनशीलतासँग जोडिएका यस्ता घटनाहरू पटक पटक दोहोरिनु संयोग मात्र हो वा राज्यका नीतिगत कमजोरीको संकेत ? गणतान्त्रिक व्यवस्थामा यस्तो घटना हुनु आफैंमा गम्भीर प्रश्न हो। व्यक्तिको कम्मरभन्दा माथि गोली चलाउनुपर्ने अवस्था किन आयो ? बल प्रयोगको मापदण्ड पालना भयो कि भएन रु सरकारले यसको स्पष्ट जवाफ दिनुपर्छ। – उनले लेखेकी छन् ।
सांसद ओलीले बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा भएको उल्लेख गर्दै यस्ता यात्रामा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व भएको बताएकी छन्। देवानगञ्ज घटनामा गोली लागेर एक जनाको मृत्यु हुनुका साथै कैयौँ अन्य घाइते उपचाररत रहनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ ।
घटनाले राज्यको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै ओलीले स्थानीय तहमा बढ्दो असहज स्थितिलाई समयमै किन सम्बोधन गर्न नसकिएको, प्रारम्भिक चेतावनी तथा पूर्वसूचना प्रणाली किन प्रभावकारी हुन नसकेको र नागरिकको जीवन जोगाउने अन्तिम विकल्प मानिने गोली प्रयोग किन आवश्यक बन्यो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् ।
एक सामान्य विवाद हिंसात्मक बन्दै प्रहरीको गोली चल्नु, एक जनाको मृत्यु हुनु, दुई दर्जनभन्दा बढी व्यक्ति घाइते हुनु तथा पाँच स्थानमा कर्फ्यु लगाउनुपर्ने अवस्था आउनु प्रजातान्त्रिक राज्यका लागि गम्भीर चिन्ताको विषय भएको ओलीको भनाइ छ ।
राप्रपा नेतृ ओलीले घटनाको वास्तविक कारण, जिम्मेवार पक्ष तथा सुरक्षा निकायबाट भएको बल प्रयोगको औचित्यबारे निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय छानबिन गर्न आग्रह गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकी छन् ।
साथै उनले संवेदनशील परिस्थितिमा सबै नागरिकलाई संयम, सहिष्णुता र जिम्मेवारी प्रदर्शन गर्न आग्रह गर्दै अफवाह र उत्तेजनाको पछि नलागी सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउन अपिल गरेकी छन् । उनले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।







