नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ चैत १३ गते !


काठमाडौं ।  नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ।

रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ।  यो सँगै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम निश्चित भएको छ।

सरकार गठनका विषयमा राजधानीको रोयल सिंगी होटलमा रास्वपा नेताहरूले छलफल गरेका छन्। छलफलपछि सांसदको शपथ लिएलगत्तै प्रधानमन्त्रीले शपथ ग्रहण लिने टुङ्गो लागेको हो।

सात बुँदे पूर्वसहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ। बिहीबार साँझ शीर्षस्थ नेताहरुबिच भएको छलफलले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

उनका अनुसार अनुमोदनको लागि १२ गते केन्द्रीय समिति बैठक बस्नेछ । महामन्त्री बुर्लाकोटीले भने,‘बाँकी संसदीय दलको बैठकले प्रक्रिया अगाडि बढाउँछ । सर्वसम्मत सहमति भएपछि संसदीय दलको नेता बनाउन विधान संशोधन गर्न आवश्यक छैन।’

प्रधानमन्त्रीको शपथ चैत १३ गतेलाई तय भएपनि सरकार र राष्ट्रपति कार्यलयको तयारीमा भर पर्ने उनले बताए।

संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसलगत्तै सरकार गठन गर्ने रास्वपाले निर्णय गरेको हो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top