काठमाडौं । पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाकोविरुद्ध आवाज उठाउँदै संगठित रुपमा उदाएका तीनवटा नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र शाहको समूहले एकता गरेको एकदिनपछि सोमबार कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि एकता भएपछि अब पुरानाहरुको विररुद् उठेको आवाज करिब एक ठाउँमा संगठित भएको छ । यसअघि नै विवेकशील साझा पार्टी रास्वपामा मिलिसकेको थियो ।
जेनजी आन्दोलनका केही अगुवाहरू पनि रास्वपामा प्रवेश गरिसकेका थिए ।
जेनजी आन्दोलनमा संलग्नहरूको समेत राजनीतिक, नैतिक र भौतिक समर्थन तीनवटा संगठित समूहमा केन्द्रित देखिएको थियो । त्यसैले चुनावका लागि यी तीन शक्तिहरू मिल्नुपर्ने दबाब जेनजी आन्दोलनकारीहरूले पनि दिँदै आएका थिए ।
पुराना पार्टीहरूको बर्चस्व तोड्नका लागि छुट्टा छुट्टै चुनावमा भाग लिँदा सम्भव नहुने निष्कर्ष निकाल्दै यी तीन शक्तिहरु एक ठाउँमा आएका हुन् । यद्यपि जेनजी आन्दोलनपछि वैकल्पिक शक्तिको नाममा अन्य राजनीतिक दलहरू पनि खुलेका छन् ।

यी तीन शक्तिबीचको एकतामा दलभित्रको संरचनामा पदीय भागबन्डाका कुरा पनि मिसिएका छन् । सभापतिमा रवि लामिछाने रहने छन् । बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् । कुलमान घिसिङ चाहिँ पार्टीका सभापति पछिको पहिलो दर्जाको उपसभापति रहनेछन् । समानुपातिक सूचिमा १८ जना उज्यालो नेपाल पार्टीका तर्फबाट र बालेनका तर्फबाट ४० जना रहने भद्र सहमति छ ।
पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन पद बाडफाँट गरेर अघि बढेका उनीहरूको मूल उद्देश्य कुशासनविरुद्ध उभिने र योग्यता प्रणालीलाई स्थापित गर्ने भन्ने छ ।
यो सहमति जुटाउन तीन शक्तिबीच पटक-पटक छलफल भएको थियो । उक्त छलफलले पहिलो चरणमा रास्वपा र बालेनबीच सहमति जुटायो । सोमबार दोस्रो चरणमा कुलमानसँग सहमतिमा पुग्यो ।
यसअघि काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच सहमति भएपनि कुलमानसँग कुरा मिल्न सकेको थिएन ।







