काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।
जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ । इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका हुन् ।
इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।
श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरू भावविह्वल देखिन्छन् । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी देखिन्छन् ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।






