काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले भोलिदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् । मंगलबार नगरका कार्यबाहक मेयर विसन राईले विज्ञप्ति जारी गर्दै मेयर भट्टराईले भोलिदेखि अनिश्चितकालीन आमरण अनसन बस्ने घोषणा गरेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘….सत्याग्रहको पूर्व घोषित कार्यक्रम अन्तर्गत नगरप्रमुख ज्यूले २०८२/०४/१४ गते बिहान ९:०० बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नु भई सत्याग्रहको कार्यलाई चरणबद्ध रुपमा अगाडि बढाउनु भएकव व्यहोरा जानकारी गराइन्छ।’
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका थिए । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।

माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका थिए । उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका थिए ।
उनले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :







