गायिकाद्वय चौहान रअधिकारीलाई प्रधानमन्त्री ओली लेख्छन्, ‘साहसी छोरीहरू’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा व्याप्त परपीडक प्रवृत्ति, अर्थात् आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने र हरेक कुराको विरोध गर्ने बानीबाट समाजलाई बचाउनुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रवृत्तिबाट समाजलाई उत्तेजित हुनबाट रोकी विवेकतर्फ फर्काउनुपर्ने बताएका छन्।

‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ दुई गायिका एलिना चौहान र समीक्षा अधिकारीको तरिकालाई सही ठहर गर्दै प्रधानमन्त्री ओलीले समाजमा हरेक सकारात्मक पहलकर्ताले अनावश्यक गाली पाउने प्रवृत्ति अत्यधिक बढेको उल्लेख गरेका छन्। उनले राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुनेमा जोड दिएका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरू, विशेषगरी सार्वजनिक पदमा रहेका वा कुनै क्षेत्रमा सफल भएका व्यक्तिहरूलाई लक्षित गरी अनावश्यक आलोचना र गालीगलौज गर्ने प्रवृत्ति बढेको छ। यसले समाजमा असहिष्णुता बढाएको र रचनात्मक बहसभन्दा व्यक्तिगत आक्रमण हावी भएको गुनासो बढिरहेका बेला प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको हो।

एलिना चौहान र समीक्षा अधिकारीले आफूहरूलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने व्यक्तिहरूको टिप्पणीलाई सार्वजनिक गर्दै उनीहरूलाई जवाफ फर्काउने रणनीति अपनाएका छन्।

उनीहरूको यो कदमलाई कतिपयले ‘साइबर बुलिङ’ विरुद्धको सशक्त प्रतिवादका रूपमा लिएका छन् भने केहीले यसले झनै विवाद बढाउने तर्क गरेका छन्।

यसै सन्दर्भमा, प्रधानमन्त्री ओलीले ती गायिकाको कदमलाई समर्थन गर्दै यस्ता नकारात्मक प्रवृत्तिहरूविरुद्ध सचेत रहन र समाजलाई सकारात्मक दिशातर्फ डोऱ्याउनुपर्ने आवश्यकतामाथि ध्यानाकर्षण गराएका छन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top