काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।
नतिजा सार्वजनिकको निर्णय गर्न बोर्डको बैठक सुरु भएको छ । यसअघि बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिएको थियो । नतिजा सार्वजनिक भएपछि वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।







