कोरियाले मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान छः श्रममन्त्री भण्डारी


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाले विकासमा मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान गरेको बताएका छन् ।

ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालीहरू विभिन्न देशमा गएर काम गरिरहेको र ती देशहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका हुन् । ‘छोटो समयमा नै कोरियाले फड्को मारेको छ, त्यसमा नेपाली कामदारहरूको समेत योगदान छ,’ उनले भने, ‘ती देशहरूले नेपालीको योगदानलाई कदर गर्नुपर्छ ।’

गन्तव्य मुलुकहरूले नेपाली कामदारलाई उपयुक्त सेवासुविधा दिनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । ‘हाम्रा श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेका छन् । तर त्यो कामले गर्दा उनीहरुको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यो विकासको साझेदार हामी पनि र्हौं । त्यस कारण हाम्रा श्रमिकहरु सम्मानका पात्र हुनुपर्छ । सुरक्षित आप्रवासनको व्यवस्था हुनुपर्छ । त्यो मुलुकले पाएका नागरिक सरह सेवा, सुविधा, पारिश्रमिक हुनुपर्छ ।’

मन्त्री भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताए । नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री भण्डारीकाअनुसार अहिले सरकारले विभिन्न देशसँग द्विपक्षीय श्रम सम्झौता गरिरहेको छ । अन्तरर्राष्ट्रिय फोरमहरूमा समेत सरकारले समान व्यवहारका लागि कुरा उठाइरहेको बताउँदै उनले नेपालीले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चित गरिने बताए ।

मन्त्री भण्डारीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संरचना समेत विगतमा वैदेशिक रोजगार सम्बद्ध रहेकोमा अहिले त्यसको पुनःसंरचना गरेर अघि बढिरहेको जानकारी दिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top