१७ हजारको हत्यारा भन्छन्, एक जना मान्छेलाई पनि पिटेको छैन : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई धकेल्न चाहनेले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पंक्तिबाट त्यसको खण्डन नभएको भन्दै गुनासो गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले एक जना मान्छेलाई पिटेको समेत नभएको जिकिर गरे ।

‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा भनिरहँदा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो । राज्यपक्ष र विद्रोहीले कति गर्‍यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ । आजभोलि त प्रचण्डले भन्न थालिएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले एक जनालाई पनि पिटेको छैन अहिलेसम्म । हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने । युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीवीबाट यसमा खण्डन भएको देखिँदैन ।’

प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनका लागि पनि सबैभन्दा बढी जोखिम माओवादी केन्द्रले नै उठाएको जिकिर गरे ।

‘आफू जोखिममा जाने देख्दादेख्दै पनि हतियार व्यवस्थापन आजकै दिनमा हुनुपर्छ, नभए भोलिसम्म थुप्रैको हत्या हुनसक्छ भन्ने पार्टी भनेको माओवादी केन्द्र नै हो’ प्रचण्डले भने, ‘गुनासो भन्दा पनि किन हामी बोल्दैनौं भन्ने मेरो प्रश्न हो ।’

नेपाली समाजको एउटा वर्ग र समुदायले माओवादी केन्द्र र समुदायले माओवादी केन्द्रलाई जस दिनै नचाहेको प्रचण्डको गुनासो थियो ।

‘बरु, उल्टो नेरेटिभ बनाउने जबर्जस्त कोसिस भएको छ १७ हजारको हत्यारा भनेर । म यहाँ उपस्थित सबै बुद्धिजीवी साथीहरूलाई भन्न चाहन्छु, यो विषय गम्भीरतापूर्वक विचार र चिन्तन गर्न अपिल गर्छु,’ प्रचण्डले भने ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top