आज फूलपाती, घरघरमा फूलपाती भित्राइँदै, अष्टमी र नवमी एकै दिन


काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ ।

‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, धर्मशास्त्रविदहरु बताउँछन्।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

हनुमानढोकामा यस वर्षको फूलपाती आइतबार अपराह्न भित्राइने कार्यक्रम रहेको छ । फूलपाती लिन शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

विहीबार बिहान जीवनपुरबाट स्वयम्भू हुँदै राजधानीबाट गएको समूहले फूलपाती ल्याउने छ । त्यस क्रममा स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरिन्छ । स्वयम्भूबाट जमलको दशैंघरमा फूलपाती आइपुग्ने छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्राइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आजदेखि दशैंको रौनक बढ्यो

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

आजैका दिनदेखि सरकारी कार्यालयहरु पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।

आ–आफ्ना घर फर्किनेहरुको संख्या तीव्र बनेसँगै काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ । सधैं व्यस्त रहने सडकहरुमा गाडीको संख्या पनि पातलिंदै गएका छन् ।

गाउँहरूमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैंको रौनकलाई अझ बढाउने गर्दछ । यस अवसरमा चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्परा पनि छ ।

अष्टमी र नवमी एकै दिन
यसपटक अष्टमी र नवमी एकै दिन अर्थात् शुक्रबार परेको छ । त्यसैले एकै दिन दुई देवीको पूजा हुन्छ । ‘महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो चलनअनुसार पूजा गर्न सकिन्छ,’ अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले भने ।

महाअष्टमीको रात शक्तिपीठहरूमा कालरात्रिको विशेष पूजा हुन्छ । त्यस्तै, महानवमीमा सिद्धिधात्री देवीको पूजा हुन्छ । ‘हामीले गरेका सम्पूर्ण कर्मलाई सिद्धि दिने काम देवीले गर्ने भएकाले उहाँको उपासना गर्ने गरिन्छ,’ रिजालले भने ।

 विजयादशमीमा टीकाअघि के गरिन्छ ? 
नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देवी विसर्जन तथा दसैँको टीकाको साइत सार्वजनिक गर्दै आएका छन् । नेपालको समयअनुसार देवी विसर्जनको साइत शनिबार (२६ असोज) बिहान ८:३३ मा तथा टीकाको उत्तम साइत सोही दिन बिहान ११ :३६ मा छ ।

 टीका लगाउँदा कता फर्कने ?
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालका अनुसार टीका लगाइदिने व्यक्ति पश्चिम र टीका लगाउने व्यक्ति पूर्व फर्किनुपर्छ । टीका लगाइदिने व्यक्तिले देवी विसर्जन गर्दाको कलशको जलले टीका लगाउनेलाई अभिषेक गरेर साइतमा टीका र जमरा लगाउनुपर्ने उनले बताए ।

कुन देशमा कति बजे छ साइत ?
अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत कुन देशमा कति बजे छ भनेर पनि जानकारी दिएको छ । अधिकांश देशमा १२ अक्टोबर र केहीमा १३ अक्टोबरमा दसैँ पर्छ । १२ अक्टोबरमा भारतमा ११:४२ तथा अमेरिकाको न्युयोर्कमा  १०:०१ र वासिङ्टन डिसीमा ९:५५ बजेट टीकाको साइत छ । त्यस्तै, पोर्चुगलको लिस्बनमा १०:२४, बेलायतको लन्डनमा १०:२१, फ्रान्सको पेरिसमा १०:२३ र नर्वेको ओस्लोमा १०ः१९ बजे टीकाको साइत छ ।

सोही दिन स्विट्जरल्यान्डको जेनेभामा ११:५५, माल्टामा १०:४५, साउदी अरेबियामा ११:२३, सिंगापुरमा ११:४५, इजरायलको तेल अभिभमा ९ः१६, मलेसियाको क्वालालम्पुरमा ११:५७ र युएईको अबुधाबीमा ११:४५ बजेको साइत छ । १२ अक्टोबरमै कतारको दोहामा ११:०५, थाइल्यान्डको बैंककमा ११:२१ र म्यान्मारको यांगुनमा ११:२१ बजे साइत तोकिएको छ ।

१३ अक्टोबरमा भने जापानको टोकियोमा ११:३५, अस्ट्रेलियाको सिड्नीमा ११ः२१ र मेलबर्नमा ११:२७, हङकङमा ११:४३ बजे र दक्षिण कोरियाको सिओलमा ९:१५ बजे टीकाको उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले जनाएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top