काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । विशेषगरी वडादशैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ ।
गढीमाई
बलिका लागि चर्चित गढीमाईको मन्दिर बारा जिल्लामा पर्छ । सदरमुकाम कलैयाबाट करिब आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईमा पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्ने गर्छ । बडादसैंका बेला यहाँ राँगा र बोकाको विशेष बलि दिने प्रचलन छ । गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यो शक्तिपीठ चर्चित शक्तिपीठ हो ।
शक्तिपीठ मत्सरी दुर्गा मन्दिर
सिद्धि प्राप्त दुर्गा मन्दिर, रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ स्थित मत्सरीमा रहेको छ । यस मन्दिरमा दैनिक रूपमा बिहान र बेलुका पूजा र स्तुति गरिन्छ । स्तुति वाचनमा दैनिक रूपमा ५० देखि सयको सङ्ख्यामा श्रद्धालु भक्तजन र मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य ३६५ दिन नै सहभागी हुन्छन् । शरदकालीन दुर्गा पूजा बढी भव्यताका साथ मनाइन्छ । वासन्तीय नवरात्रिको पुजन पनि निकै निष्ठा एवं उत्साहपूर्वक गरिन्छ । भक्तको भाकल पूरा हुने, निःसन्तानले सन्तान पाउने, सुपुत्री मात्र भएकाले सुपुत्र पाउन सक्नेलगायतका मान्यताका कारण यस मन्दिरको ख्याति रौतहट र वरिपरिका जिल्ला सर्लाही, बारा र पर्सासम्म तथा सिमाना पारि भारतका पूर्वी चम्पारण, सीतामढी, मुजफ्फरपुर र मधुवनी जिल्लासम्म रहेको छ । ती ठाउँबाट पनि श्रद्धालु दुर्गा मन्दिरको पूजामा सहभागी हुन यहाँ आउँछन् । मत्सरीको दुर्गा मन्दिरलाई शक्तिपीठका रूपमा विश्वास गर्ने भक्तजन पनि लाखौँको सङ्ख्यामा छन् ।
दुर्गा पूजामा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिन्छ । विगतका दिनमा गाउँका युवा विभिन्न किसिमका सामाजिक र धार्मिक कथामा आधारित नाटकको प्रदर्शन गरी आफ्नो कलाको प्रदर्शन गर्दथे भने समय समयमा धार्मिक प्रवचन पनि हुने गर्छ । वासन्तीय नवरात्रिमा त केवल धार्मिक प्रवचन मात्रै हुन्छ । अहिले १० लाख रुपियाँ जति खर्च गरेर नाच प्रदर्शन गराइन्छ । नाच र नाटकले मेलाको आकर्षण बढाउँछ । विजयादशमीका दिन अत्यधिक भिडका कारण दुर्गा भगवती गाउँपालिकाभरि नै बाटो हिँड्न गाह्रो हुन्छ । मत्सरीको दुर्गा मन्दिरमा दैनिक रूपमा दर्शन गर्नेहरू १० हजारदेखि ५० हजारसम्म हुन्छन् ।
पाथिभरा
पूर्वी नेपालको चर्चित धार्मिक स्थलहरूमध्ये पाथिभरा देवी मन्दिर पुग्ने धेरैको इच्छा हुन्छ । चाडबाडको फुर्सदको समयमा पाथिभरा पुग्नेहरूको भीड नै लाग्छ । दसैंमा यहाँ भक्तजनहरूको घुइँचो लाग्छ । ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर उत्तरपूर्वमा पर्ने मन्दिर अग्लो डाँडामा पर्दछ । ३ हजार ७९४ मिटरको उचाइमा रहेको मन्दिरमा हिउँद महिनामा भने जान कठिन हुन्छ । चैत, वैशाख तथा असोज, कात्तिक महिना मन्दिरको दर्शन गर्न जान उपयुक्त हुन्छ । सुकेटर विमानस्थलबाट पैदल हिँड्दा करिब नौ घण्टा लाग्छ । यहाँ जतिसुकै बलि चढाए पनि रगत नदेखिने जनविश्वास छ । विराटनगर वा काठमाडौंबाट हवाई यातायातको सुविधा भए पनि सधैं जहाज जाँदैन । त्यसैले, झापाको चारआलीबाट सार्वजनिक सवारीमार्फत २७० किलोमिटर यात्रापछि फुङलिङ सदरमुकामबाट मन्दिरको यात्रा तय गर्न सकिन्छ ।
दक्षिणकाली
काठमाडौंबाट नजिकै रहेको दक्षीणकाली मन्दिर धार्मिक यात्राका लागि प्रमुख गन्तव्य मानिन्छ । विशेषगरी शनिबार र मंगलबार भीड लाग्ने यस मन्दिरमा बलि दिने प्रचलन पनि छ । दक्षिणकाली काठमाडौंबाट दक्षिणतर्फ करिब १७ किलोमिटरको बस यात्रा गरेपछि पुग्न सकिन्छ । राजा प्रताप मल्लद्वारा निर्माण गरिएको यो मन्दिर कालीदेवीको हो । यहाँ दसैं अवधिभर धुमधामका साथ मेला लाग्ने गर्दछ । राजधानीवासीहरूको दसैंमा यहाँ भीड लाग्ने गर्दछ । हाल बाढीका कारण दर्शन गर्न केही असहज भएपनि स्थानीय सरकारले सहजीकरण गरिरहेको छ ।
मनकामना
गोरखा जिल्लामा पर्ने प्रख्यात धार्मिक स्थल मनकामना नपुग्ने मानिसहरू कमै मात्र भेटिन्छन् । चाडबाडको समयमा दर्शन गर्ने मात्र होइन घुमघामका लागि मनकामना पहिलो छनोटमा पर्छ । काठमाडौंबाट १०२ किलोमिटर यात्रा गरेपछि कुरिनटारबाट केबुलकार चढेर यस मन्दिरमा सहजै पुग्न सकिन्छ । पैदल जानेहरूका लागि आबुखैरेनीबाट करिब पाँच घण्टाको यात्रा तय गरेपछि पुगिन्छ । विशेष गरेर पशु बलिका लागि यो मन्दिर प्रख्यात छ । दसैंको अष्टमीका दिन यहाँ विशेष बलि चढाउने प्रचलन छ ।
हलेसी
पूर्वको पशुपतिनाथका रूपमा चिनिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका (साबिक महादेवस्थान गाविस) मा पर्ने हलेसी गुफाको प्रसिद्धि नेपालमा मात्र नभई भारत, बंगलादेश र भुटानमा समेत छ । काठमाडौंबाट हलेसी बिहान सबेरै हिँड्दा साँझसम्म पुग्न सकिने शक्तिपीठ हो । यहाँको महादेव गुफा आकर्षक मानिन्छ । गुफामा बौद्ध, किराँत र हिन्दूहरूले उत्तिकै श्रद्धा एवं सम्मान गर्ने गर्छन् ।
विशेषगरी शिवरात्रि, बालाचतुर्दशी तथा रामनवमीका दिन यस मन्दिरमा भक्तजनको ठूलो संख्यामा भीड लाग्ने गर्छ । काठमाडौंबाट हलेसी महादेव पुग्न २३० किलोमिटरको यात्रा तय गर्नुपर्छ । दसैंका बेला यहाँ विशेष मेला लाग्ने गर्दछ ।
गहवामाई
पर्सा जिल्लाको वीरगन्जमा रहेको गहवामाई दसैंका लागि प्रख्यात धार्मिक स्थल हो । गहवामाई मन्दिरमा बली चढाउँदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पशुबलि नचढाउनेहरू मिठाई, फलफूल र नरिवल चढाउने गर्दछन् भने उनीहरूले जमरा कोठामा घिरौंला, कुभिण्डो, मुला आदि बलि दिई दुर्गाभवानीलाई दही चिउरा, खीर तथा नरिवल
चढाउने गर्दछन् । प्रत्येक वर्ष बडादशैंको सप्तमीदेखि महानवमीसम्म ठूलो मेला लाग्ने गरेको गहवामाईमा विभिन्न कामना र भाकल गरिएका बोका, कुखुरा, हाँस र परेवालगायतका पशुपंक्षीको बलि चढाइन्छ । यहाँ नजिकैको भारतीय सहर रक्सौलसहित बिहार र आसपासका क्षेत्रबाट समेत दसैंमा भाकल पूजा गर्न उल्लेख्य संख्यामा भक्तजनहरू आउने गर्दछन् । जसका कारण घण्टाघर क्षेत्रदेखि बिर्ता बजारसम्मको सडक मेलाकै कारण अवरुद्धसमेत हुने गरेको छ ।
बडिमालिकास्थान
कालीकोट जिल्लाको बडिमालिका मन्दिर चाडबाडका समयमा धेरै घुइँचो लाग्ने मन्दिर हो । बडादसैं तथा चैतेदसैंमा विशेष मेला लाग्ने भएकाले यसलाई ठूलो शक्तिकेन्द्रका रूपमा मान्ने गरिन्छ । १२ हजार २ सय १९ फिटको उचाइमा रहेको यो मन्दिरमा अष्टमीका दिन बलि दिएर टीका लगाउन घरमै पुग्ने प्रचलन छ । कालिकोटको मार्तडीबाट तीन दिनको पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ ।
मौलाकालिका
नवलपरासी गैंडाकोटको मौलाकालिका मन्दिर चाडबाडका समयमा भीडभाड हुने मन्दिर हो । सवारीसाधन मन्दिरको प्रवेशद्धारसम्मै पुग्छ । त्यहाँबाट १ हजार ८९२ वटा सिँढी चढेपछि भगवतीको मन्दिर पुग्न सकिन्छ । उकालो सिँढी पार गर्न करिब ४० मिनेट लाग्छ । यहाँ एउटा पोखरीको बीचमा गाडिएको काठको खम्बा र सामुन्ने कालीको मन्दिर छ । मन्दिरभित्र रहेको कालीको मूर्ति भने छुन पाइँदैन । दसैंका बेलामा यहाँ नारायणगढ बजारसहित नवलपरासी, चितवन, रूपन्देही तथा मकवानपुरबाट समेत भक्तजनहरू दर्शनका लागि पुग्ने गरेका छन् ।
गोरखकाली
बडादसैंमा विशेष महत्वका साथ पूजा–आरधना गरिने गोरखाको गोरखकाली मन्दिरको आफ्नै विशेषता छ । गोरखा दरबारस्थित मन्दिर दसैंघरमा घटस्थापनाको दिन बिहान सबेरै दुर्गा भगवतीको प्रतिमालाई दियो, कलश र नगराबाजा कैलाश कोठाबाट पूजा कोठामा स्थानान्तरण गरी देउता सार्ने प्रचलन छ । सोही अवसरमा हर्षबढाइँ गरी दसैं प्रारम्भ भएको घोषणासमेत गरिन्छ । गोरखा दरबारसँगै रहेको मन्दिरमा वर्षौंअघि देखि बडादसैंका अवसरमा विशेष पूजाआजा हुने गरेको छ ।
विन्ध्यवासिनी
पोखराको विन्ध्यवासिनीको मन्दिरमा पनि चाडबाडका बेला विशेष भीड लाग्ने गर्छ । भगवतीलाई विन्दुवासिनी पनि भनेर पूजा गर्ने गरिन्छ । बडादसैंको फूलपातीका दिन बाजागाजासहित फूलपाती भित्र्याउने प्रचलन छ । पोखरा–बागलुङ सडकखण्डनजिकै पर्ने यो मन्दिर ३ सय वर्षअघि निर्माण भएको इतिहास छ । यस्तै, पर्सा जिल्लाको साबिक विन्ध्यवासिनी गाविसमा समेत विन्ध्यवासिनी मन्दिर छ । जहाँ दसैं अवधिभर पूर्णिमासम्म धुमधामका साथ मेला लाग्ने गर्छ । यहाँ भारतबाट समेत भाकल पूजा गर्न उल्लेख्य संख्यामा भक्तजनहरू आउने गरेका छन् । यस्तै बारा, पर्सा, रौतहट, मकवानपुरबाट समेत यहाँ दर्शन गर्न भक्तजनहरू पुग्ने गर्दछन् ।
छिन्नमस्ता
सप्तरी जिल्लामा पर्ने छिन्नमस्ता देवीको मन्दिरमा विशेष गरेर दसैंका बेला भक्तजनहरूको धेरै भीड लाग्छ । सदरमुकाम राजविराजबाट १० किलोमिटर टाढाको सखडा गाउँमा पर्ने यो मन्दिर नेपाल र भारतको सिमानामा पर्छ । दसैंका बेला पशुपंक्षीको बलि दिनलाई धेरै भक्तजन यहाँ पुग्छन् । मन्दिरमा हिन्दू मात्र होइन मुसलमान समुदायहरू पनि दर्शन गर्न पुग्ने गर्छन् । मन्दिरभित्र मूल देवीको कालो रङको मूर्ति छ । उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुंगामा कुँदिएको छ । जसका कारण पनि साक्षात देवीका रूपमा भक्तजनहरू यहाँ पुग्छन् ।
पलाञ्चोक भगवती
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालबाट नजिकै रहेको पलाञ्चोक भगवतीको मन्दिर चर्चित शक्तिपीठ हो । वैशाख पूर्णिमा र कात्तिक पूर्णिमामा भव्य मेला लाग्ने यहाँ टाढाटाढाबाट भक्तजन आउने गर्दछन् । मन्दिर लिच्छवी कालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । काठमाडौंको नक्साल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ । यहाँ दसैंमा भक्तजनहरूको भीड लाग्छ ।
चण्डेश्वरी मन्दिर
चण्डेश्वरी मन्दिर काभ्रेको बनेपामा पर्दछ । नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीका रूपमा पुज्ने गर्दछन् । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् भने बुद्धमार्गीहरूले पनि चण्डेश्वरीलाई विशेष रूपमा मान्ने गर्दछन् । दसैंका बेला यहाँ सयौं भक्तजन दर्शनका लागि पुग्ने गर्छन् ।
भद्रकाली मन्दिर
भद्रकाली जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मङ्गल स्वीकार गर्दछिन्, उनै ’भद्रकाली’ हुन् । यो मन्दिर सिंहदरबारदेखि ५०० मिटर पश्चिममा रहेको सामान्य स्वरूपको मन्दिर हो । चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ । तान्त्रिक पद्धति अनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पूजारी बताउँछन् । दुर्गा कवचमा उल्लेख भए अनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो । यसलाई कतै कतै लुमडीस्थान पनि भनिन्छ्र । यहाँ पनि दशैंको घटस्थापनासँगै दशैंभरि नै विशेष पूजा गरिन्छ भने वर्षभरि नै सदाबहार रुपमा भक्तजनहरुको उपस्थिती बाक्लो रहने गरेको छ ।
तलेजु भवानी मन्दिर
तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवारक्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यसक्षेत्रका अन्य महत्वपूर्ण स्मारकहरु हुन् तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप आदि । मन्दिरै मन्दिरको यसक्षेत्रमा देशविदेशका पर्यटकहरुको पनि विशेष उपस्थिती रहने गर्दछ ।
मैतिदेवी मन्दिर
मैतीदेवी काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो। करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ। चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ। जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिँडेका थिए। बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई ‘माइती देवी’ हुँदै मैतीदेवी भन्ने गरिएको हो।
त्यस्तै एउटा अर्को किंवदन्दीअनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे। त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए। त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए। त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरूलाई बताए। पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन्। त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन्।
कालिञ्चोक
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत सात भगवती दिदी बहिनी हुन् भन्ने किंवदन्ती रहेको छ । यो मन्दिर दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरमा पर्छ । यहाँसम्म पुग्न हिजोआज कच्ची बाटोमार्फत ट्याक्सीमा समेत जान सकिन्छ । यस्तै निजी सवारीसाधनहरू समेत यहाँ लैजान सकिन्छ । हालै आएर यस मन्दिरमा पुग्नका लागि केबुलकारको पनि परीक्षण सञ्चालन सुरु गरिएको छ । यस मन्दिरमा दर्शन गरेमा चिताएको पूरा हुने, रोग व्याधी नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्ति वृद्धि हुने जनविश्वास रहेको छ । चाडबाडको समयमा यहाँ भक्तजनहरूको भीड लाग्ने गर्छ ।
बागलुङ कालिका
बागलुङ जिल्लामा रहेको बाग्लुङ कालिका देवीको मन्दिर चाडबाडका बेला विशेष भीडभाड हुने मन्दिर हो । पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोका रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति मन्दिरमा राखिएपछि मन्दिरले चर्चा पाउन थालेको र भक्तजनहरूको भीड लाग्न थालेको मानिन्छ । सदरमुकाम बागलुङ बजारदेखि पूर्वमा कालिगण्डकी र कोठेखोलाको संगममा रहेको हात्तीसुँडे जंगलमा मन्दिर रहेको छ । दसैंको कालरात्रि र नवमीको दिन यहाँ राँगो, कुखुरा, सुगुर र परेवाको बलि दिइन्छ ।
पाल्पा भगवती
पाल्पाको तानसेन बजारको मध्य भागमा अवस्थित पाल्पा भगवती मन्दिरको बेग्लै धार्मिक महत्व छ । श्रीनगर डाँडामा रहेको मन्दिरको मध्य भागमा रणउजेश्वरी भगवतीको मूर्ति रहेको छ । भाद्र कृष्ण नवमीका दिन यहाँ भव्य जात्रा हुने गर्छ । अंग्रेजसँग युद्ध लड्नुपूर्व यहाँ सैनिकहरूले भव्य पूजाआजाको आयोजना गर्ने गर्थे भन्ने इतिहास पाइन्छ । बडादसैंका बेला पनि भगवतीको दर्शनका लागि भक्तजनहरू पुग्ने गर्छन् ।
माईपोखरी इलाम
माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका माइपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने तारा आकृतिको धार्मिक महत्व बोकेको नौ कुने पाखरी हो। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको विव्ल्याँटे भन्ने बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्व रहको पाइन्छ ।
स्कन्ध पुराणमा शिव पार्वती बन बिहार र जलक्रिडा गर्ने गरेको भनी बर्णन रहेको पाइन्छ । यसको नवरात्रसँग नजीकको सम्बन्ध छ। नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ। जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ। हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ। यो पोखरीका नौ कुना छन् जसमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ। खासगरी ठूलो एकादशीमा यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
ज्वालामुखी देवी
धादिङको चैनपुरमा पर्ने ज्वालामुखी देवीको मन्दिरमा पनि दसैंमा बढाइँ दिने प्रचलन छ । प्रसिद्ध शक्तिपीठका रूपमा यहाँ भक्तजनहरू आइपुग्छन् । सदरमुकाम धादिङबेंसीबाट काफलपानीसम्म गाडीमा सहजै पुग्न सकिने यो मन्दिर आसपासबाट धादिङका सबै गाउँहरु देख्न पनि सकिन्छ ।
वनशक्ति माई
पर्सा जिल्लाको पश्चिमी क्षेत्र ठोरीमा पर्ने वनशक्ति माईको मन्दिरमा दसैंको सुरु दिन घटस्थापनादेखि नै भव्य पूजा आराधना हुने गर्दछ । यहाँ भारतीय क्षेत्र पटनादेखिका भक्तजनहरू दर्शनका लागि आउने गर्दछन् । घरमा जमरा नराख्नेहरूले समेत यस मन्दिरमा जमरा राख्ने वा त्यहाँबाट घरमा लैजाने गर्दछन् । यस शक्तिपीठमा बलिसमेत दिइने गरिन्छ । यस मन्दिरमा चितवन जिल्लाबाट समेत भक्तजनहरू पूजा आराधनाका लागि पुग्ने गर्दछन् ।
बज्रबाराही
चार बाराहीमध्ये बज्रबाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट सहजै गाडी पाउन सकिन्छ । प्राकृतिक रूपले सुन्दर साथै ऐतिहासिक स्थलका रूपमा पनि यस मन्दिरको महत्व छ । दसैंमा यहाँ बोकाको बलि दिने प्रचलन छ । कात्तिक शुक्ल अष्टमी, नवमी र दशमीका दिन यहाँ विशेष जात्रा देखाउने प्रचलन छ ।
बज्रयोगिनी
नेपालको प्राचीन सहर साँखुमा रहेको बज्रयोगिनी मन्दिरको विशेष महत्वव रहेको छ । काठमाडौंको पुरानो बसपार्कबाट १८ किलोमिटर टाढा रहेको यो मन्दिरमा विशेषगरी माघ महिनामा श्रीस्वस्थानी व्रतकथा मेला लाग्ने गर्छ । बज्रयोगिनी देवीलाई बौद्ध परम्पराअनुसार बुद्धशक्ति ‘तारा’का रूपमा मानिन्छ । यसकारण बज्रयोगिनी देवीलाई उग्रतारा पनि भनिने गरिन्छ । चैतमा बज्रयोगिनी जात्राकै आयोजना गरिन्छ । जात्राका बेला अन्डा, हाँस, बोका र राँगाको बलि दिने गरिन्छ ।
जालपा देवी
नुवाकोट जिल्लामा पर्ने जालपा देवी मन्दिरमा दसैंका बेला विशेष भीड लाग्ने गर्छ । सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको यो देवीघाट चाडबाडको समयमा पुग्नैपर्ने धार्मिकस्थल हो । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएको नेपालको इतिहासमा उल्लेख छ । दसैंमा यहाँ नुवाकोट, धादिङ, रसुवासहित राजधानी काठमाडौंबाट समेत दर्शनार्थीहरू पुग्ने गरेका छन् ।
त्रिपुरा सुन्दरी
डोल्पाको त्रिपुरा सुन्दरी भगवतीमा दसैंमा भीडभाड हुन्छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपले महत्वपूर्ण त्रिपुरा भेरी नदीको किनारमा पर्छ । पञ्चबलिका लागि प्रख्यात यस मन्दिरमा चैते दसैं र बडादसैंमा भव्य मेला लाग्छ । त्रिपुरा नामको राक्षसलाई मारिएको हुनाले मन्दिरको नाम त्रिपुरा सुन्दरी रहन गएको विश्वास छ । यसको प्रवद्र्धनका लागि खप्तड स्वामी शंकराचार्यले ठूलो योगदान पु¥याएको मानिन्छ । डोल्पाको सदरमुकाम दुनैबाट १६ कोष पूर्वमा रहेको मन्दिर पुग्न पैदल हिँडेर पाँच घण्टामा पुग्न सकिन्छ । प्राकृतिक रूपमा पनि यो स्थान अति नै रमणीय छ ।
बागेश्वरी, नेपालगञ्ज
बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रसिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगञ्जमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ। एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो।
भीमेश्वर
दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किरातकालमा नै स्थापना भएको यस मन्दिरमा देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतका रूपमा पसिना आउने गर्दछ । मन्दिरमा नित्य पूजाबाहेक भीम एकादशी, बालाचतुर्दशी, चैतेदसैं, बडादसैंमा मेला लाग्ने गर्दछ । काठमाडौंको पुरानो बसपार्कबाट १३३ किलोमिटरको यात्रा तय गरेपछि चरिकोटबाट मन्दिर पुग्न चार किलोमिटरको यात्रा तय गर्नुपर्छ ।
दन्तकाली, धरान
दन्तकाली मन्दिर धरान नगरपालीका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । मध्यकाल तिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रतकथामा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकिकरण पूर्व विजयपुर राज्यका सेनवंशी राजाहरूको ईष्टदेवीको रूपमा पुजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै रहेको छ ।
दन्तकालीको मन्दिर वि.सं. २०३५–३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने त्यसपछि यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ ।
देउती बज्यै
सुर्खेतको ऐतिहासिक धार्मिकस्थल देउती बज्यै मन्दिर धार्मिक पर्यटकीय स्थलका रूपमा प्रख्यात मानिन्छ । मन्दिर सदरमुकाम वीरेन्द्रनगर बजारबाट साढे तीन किलोमिटरको दूरीमा पर्छ । मन्दिरमा देवीका दुवै पाइला रहेकाले त्यहाँ दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ । मनले चिताएको पूरा हुने विश्वासका साथ कुलदेवीको पूजा गर्ने गरिन्छ । मन्दिरमा बोका बलि दिने, परेवा उडाउने र घण्टी चढाउने परम्परा छ ।
उग्रतारा
सुदूरपश्चिमका नौ भगवतीमध्ये उग्रताराको दर्शनका लागि पनि हजारौं भक्तजन यहाँ पुग्ने गर्छन् । डडेल्धुराको अमरगढी नगरपालिकामा पर्ने यो मन्दिर बागबजारबाट चार किलोमिटर पश्चिमपट्टि रहेको छ । प्रत्येक वर्षको महाअष्टमीका दिन यहाँ भव्य मेला लाग्ने गर्छ । किंवदन्तीअनुसार २५ सय वर्षपहिले हालको अमरगढी नगरपालिका–८ लटाउली बस्ने सार्की जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएको विश्वास गरिन्छ । यहाँ बलि दिने प्रचलन पनि छ ।
उज्जेश्वरी
पहाडी जिल्ला पाल्पामा रहेको उज्जेश्वरी भगवती प्रशिद्व मन्दिर हो। दशैको बेला यहाँ बली दिइदैन तर, पुजाआजा भने गरिन्छ। नेपाल र अग्रेज युद्धको सम्झना स्वरुप यो मन्दिरमा भगवती जात्रा गरिन्छ। यहाँ दसैँको बेला बली नदिएपनि पुजाआजा भने हुने गर्दछ। भगवती जात्राको दिनमा भने यहाँ बली सहितको पुजा लाग्ने गरेको स्थानीय बताउछन्।
गुह्येश्वरी
गुहृयश्वरी काठमाडौं उपत्यकाभित्रको प्रशिद्व शक्ति पीठ हो। यो बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ। यहाँ सतीदेवीको गुहृय पतन भएको विश्वास गरिन्छ। यो पिठमा दशैँको घटस्थापनादेखि नै विशेष पूजा आराधना गरिन्छ । यो स्थानमा सबैभन्दा पहिले तेत्तीसकोटी देवताहरू पूजा(आराधना गरेको विश्वास भए पनि यहाँ देवीहरूको कुनै मूर्ति छैन । सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् ।
बगलामुखी
पाटन दरबारबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी कुम्भेश्वर मन्दिरपरिसरमा रहेको छ । तन्त्रशास्त्र अनुसार १० महाविद्यामध्ये बगलामुखी पनि एक हुन् । यस मन्दिरमा पनि नवरात्र शुरू भएसँगै दर्शनार्थीको भीड लाग्ने गरेको छ । बिहीवार विशेष भीड हुने बगलामुखीको दर्शनबाट मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ ।
कंकालिनी
कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराजदेखि २३ किलोमिटर पूर्व हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिर भक्तजनको मनोकामना पूरा गर्ने शक्तिपीठमध्ये एक पीठ मानिएकाले नेपाल र भारतका भक्तजनको महŒवपूर्ण आस्थाको केन्द्र छ । यस मन्दिरमा महान् चाड दशैंमा ठूलो मेला लाग्ने गर्छ ।






