पक्राउ पुर्जी जारी भएका गणेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कि केन्द्रीय सदस्य रुक्मति जागरीले आफ्नो चरित्र हत्या गर्नेहरुमाथि राज्यले कारवाही गर्न तदारुकता नदेखाएको बताएकी छिन् ।

एकीकृत समाजवादीको गत असार १६ देखि सुरु भएर २१ गते सम्पन्न भएको महाधिवेशनमा आफू केन्द्रीय सदस्य बनेसँगै पार्टीकै केही नेताहरुले सुनियोजित रुपमा भ्रामक भिडियो बाहिर ल्याएर आफूलाई बदनाम गराएको उनले बताईन् ।

त्यस्तै, दृष्टि, जनता टाइम्स, खप्तड टिभीलगायतमा मिडियाहरुले आफूविरुद्ध नियोजित रुपमा समाचार बनाएर चरित्र हत्या गरेको उनको आरोप छ ।

आफ्नो चरित्र हत्यामा संलग्न रहेकाहरुविरुद्ध प्रेस काउन्सिल, महिला आयोग, मानव अधिकार आयोग, साईबर व्यूरोलगायतका राज्यका निकायमा पुगेपनि न्याय नपाएको बताईन् । आफूविरुद्ध चरित्र हत्या हुनेगरी प्रकाशन/प्रशासन गरिएको उक्त समाचार अझै नहटाइएको उनले बताइन ।

आफूले गृहमन्त्री रमेश लेखकलाई भेटेर आफ्नो पिडा सुनाएपछि गणेश विक र गणेशवहादुर बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको उनले सुनाइन् । गणेश बस्नेत नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका अध्यक्षसमेत हुन् ।

उनले पक्राउ पुर्जी जारी भएकाहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले त्यस्ता अराजक तत्वलाई पक्राउ गरेर कारबाही नगर्ने हो भने आफूले कानुन हातमा लिन बाध्य हुने पनि उनले चेतावनी दिइन् ।

‘पक्राउ पुर्जी जारी भएर जुन नौटंकी प्रस्तुत भइराखेको छ, यो गलत कुरा हो । मलाई कानुन हातमा लिन बाध्य नपारियोस् । किनभने यो देश कानुनी राज्य हो । म कानुन मान्ने मान्छे हुँ । मेरो पनि घर परिवार छन्, आफन्त छन् । म जोडदार ढंगले माग गर्न चाहन्छु । पत्रकार महासंघले नौटंकी गरिरहेको छ । महिलामाथि हिंसा गर्ने अपराधी पत्रकार र राजनीतिक दलका षड्यन्त्रकारीहरुलाई कठघरामा उभ्याउन सहयोग गर्नुहोस्,’ उनले भनिन् ।

आफ्नो राजनीतिक जीवन समाप्त पार्नका लागि यस्ता प्रकारको षड्यन्त्र भइरहेको उनले बताइन् । उनीहरुलाई पक्राउ गरेर कानुनी कारवाही गरेपछि मात्रै आफूले न्याय पाएको महशुस गर्ने उनले बताईन् ।

यसअघि पनि  बस्नेतलाई प्रहरीले किन पक्राउ गर्न खोजेको थियो ?

प्रहरीको साइबर ब्युरोको टोलीले पत्रकार तथा एमाले निकट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न खोजेको विषयले बिहीबार सामाजिक सञ्जाल तात्यो । काठमाडौंको बागबजारमा भएको कार्यक्रममा पुगेका सादा पोशाकका प्रहरीले उनलाई नियन्त्रणमा लिन लागेपछि प्रेस चौतारी निकट पत्रकारले ‘प्रहरी हस्तक्षेप’ भन्दै विरोध जनाएका थिए ।

उनीहरुले समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल जानुपर्ने भन्दै चर्को विरोध जनाए । सामाजिक सञ्जालमात्रै होइन पत्रकार महासंघदेखि विभिन्न संगठनले प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै विरोध जनाए । बस्नेत पक्राउको प्रयासविरुद्ध विभिन्न पत्रकार संगठनहरुले विज्ञप्ति जारी गरे । यो विषय अझै मत्थर भइसकेको छैन ।

विषय के हो ?

बस्नेतमाथि प्रहरीले सोधपुछ गर्नुपर्ने विषय भने समाचारसँग सम्बन्धित नै छ । प्रहरीका अनुसार भने एक महिला नेतृको अश्लिल भिडियोबारे बस्नेत सम्पादक रहेको जनता टाइम्सले साउन ३२ मा सनसनीपूर्ण शीर्षक राखेर समाचार लेखेको थियो ।

एक पार्टीकी केन्द्रीय सदस्यको भिडियो भन्दै लेखिएको समाचारमा उनको अर्धनग्न तस्बिरसमेत राखिएको पाइएको छ । उक्त समाचारमा अश्लिल भिडियोको तस्बिरसमेत राखिएको थियो ।

तर ती केन्द्रीय सदस्यले आफू त्यस्तो कुनै क्रियाकलापमै संलग्न नभएको बताउँदै प्रहरीले निष्पक्ष छानबिन गरेर त्यस्तो भिडियो बनाउने र समाचार प्रकाशित गर्ने दुवैलाई कारबाहीको माग गरेकी छन् ।

ती नेतृले भनिन्, “त्यो भिडियोसँग सम्बन्धित व्यक्ति म होइन । भिडियो मैले पनि हेरेँ । राज्यका कुनै पनि निकायबाट त्यो भिडियो मेरै भएको पुष्टि भए मलाई सजाय गरे हुन्छ । तर पुष्टि भएन भने मेरो चरित्र हत्या गर्न पाइँदैन । मेरा पनि परिवार आफन्त छन् । मैले कसरी मुख देखाएर हिँड्नु ?”

सामाजिक सञ्जालमार्फत् पनि उनले उक्त समाचारपछि आफू विक्षिप्त अवस्थामा पुगेको उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा आत्महत्याको अवस्थामा पु¥याउनु भनेको बलात्कारपछि हत्या गरेजस्तै भएको बताएकी छन् ।

जनता टाइम्सले लेखेको समाचारले आफ्नो मानमर्दन भएको र उक्त भिडियो नै आफ्नो नभएको दाबी गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिँदा पनि कारबाही नभएपछि आफू बाध्य भएर प्रहरीकहाँ पुगेको बताएकी छन् ।

सोही प्रकरणमा ब्युरोले बस्नेतमाथि अनुसन्धान गरिरहेको र पटक पटक बोलाउँदा पनि नमानेपछि समात्न पुगेको जनाएको छ । पीडित महिलाले कानुनी कारबाहीका लागि अन्तिमसम्म लड्ने बताएकी छन् ।

ती महिलाले भनिन्, “म अझै पनि जहाँ पुगेर जस्तोसुकै जाँचका लागि तयार छु । तर समाचार लेख्ने पत्रकार तयार हो कि होइन ? उनले तथ्य स्थापित गर्न सक्छन् कि सक्दैनन् ? होइन भने कानुनी कारबाहीका लागि तयार हो कि होइन ? यो प्रश्नको जवाफ खोजीरहेकी छु ।”

जनता टाइम्सले यसअघि चौतर्फी विरोध भएपछि तस्बिर परिवर्तन गरेको थियो भने अहिले समाचार नै हटाएको पाइएको छ । तर आफूले ठाउँठाउँमा गुहार लगाउँदा पनि  नेकपा (एकीकृत समाजवादी) कि केन्द्रीय सदस्य रुक्मति जागरीले आफ्नो चरित्र हत्या गर्नेहरुमाथि राज्यले कारवाही गर्न तदारुकता नदेखाएको बताएकी छिन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top