जितिया पर्वको रौनक सुरु, उपत्यकामा बेग्लाबेग्लै समारोह


काठमाडौं । तराईका आदिवासी थारू समुदायका महिलाहरुले आज(मंगलबार)देखि जितिया पर्व मनाउन सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुख, समृद्धि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।

योसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन् भने माइत आउन नसक्नेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् ।

यता, काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू महिलाहरूले यसवर्ष पनि तीन ठाउँमा जितियालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी गरेका छन्।

थारू महिला समाज, उपत्यका समितिले काठमाडौंको राष्ट्रिय नाँचघर जमल, थारू महिला सभाले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप र थारू, संगीत कला मन्दिरले कुपण्डोलमा छुट्टाछुट्टै जितिया महोत्सवको आयोजना गरेका छन् ।

थारू महिला समाज उपत्यका समितिक अध्यक्ष सुशीला चौधरीले सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिने गरेको बताइन्। ‘थारू समुदायको महान् पर्व हो । जितिया।महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन्,उनले भनिन् ।

मुख्यतः पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाउँदै आएका छन् । चितवन र नवलपरासीका थारु महिलाहरु झम्टा पार्ने (नाँच गान) गर्ने चलन छ ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरुले २०६० सालदेखि  जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउँदै आएको थारू महिला समाजकी केन्द्रीय अध्यक्ष गीता चौधरीको भनाइ छ ।

थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाईर लहाइ अर्थात नुहाए खाने दिन आज (मंगलबार), ब्रत (बुधबार) र समापन (बिहीबार) रहेको छ ।

ब्रतालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन ब्रतालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ ।

जितियाको अन्तिम तथा पारन (समापन)को दिन ब्रतालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top