काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरु हल्ला मात्रै भएको प्रहरी उच्च स्रोतले बतायो ।
‘छविलालजीलाई जरुरी पक्राउ पूर्जि दिएर पक्राउ गरिएको हो । रविजीलाई आज पक्राउ गर्ने कुनै पनि तयारी थिएन । बाहिर आएका समाचारहरु असत्य हुन्,’ स्रोतले भन्यो ।

रविलाई चाँडै पक्राउ गर्ने तयारी भने छ । जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गरिने स्रोतले बतायो । गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पूर्जि थमाएर पक्राउ गरिएको थियो ।
प्रहरीले कुनै पनि आरोपि भाग्न सक्ने खतरा देखेमा अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिन सक्छ । रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने स्रोतको भनाइ छ ।
सहकारीको वचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन छविलाल पक्राउ परेका थिए ।

छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए । त्यस अनुसार रास्वपा कार्यकर्ता वनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए ।
रास्वपा सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न सक्ने आशंकाले कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका हुन् ।






