ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।
स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिए।
रजस्वलाका समयमा छोइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमी पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
ऋषि पञ्चमी महिलाको रजस्वलासित जोडिएको किम्बदन्ती छ । किम्बदन्ती अनुसार पौराणिककालमा स्वर्गका राजा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म-हत्याको पाप भोग्नुपर्यो । ब्रह्म-हत्याको पाप लागेपछि इन्द्रले यसको निवारणका लागि ब्रह्मासँग आग्रह गरे । ब्रह्माले इन्द्रको पाप निवारणका लागि एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, पानी र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए । यसैकारण जमिन उब्जनी नहुने, वृक्षबाट खोटो निस्कने, पानीबाट फिँज निस्कने र स्त्रीमा रज देखिन थालेको धार्मिक मान्यता छ ।
रजस्वला भएका बेलामा अरुलाई छोइछाइ हुँदा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले रोग निम्त्याउने र त्यसले महिलालाई पाप लाग्ने भएकाले छुन नहुने र जानीनजानी छोइछाई भए सप्तऋषिको पूजा गर्दा पापबाट मुक्ति हुने धार्मिक विश्वास छ ।
आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । ऋषिपञ्चमीको दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ।






