कोटिहोम समापनको मध्यरातमा तनाव, प्रहरी र पत्रकारमाथि हातपात ! छानबिन समिति गठन, महासंघको ध्यानाकर्षण


काठमाडौं । साउन महिना भरि सञ्चालन भएको पशुपति कोटिहोममा समापनको मध्यराती तनाव बढेको छ । शुक्रबार राती नेपाल प्रहरी र कोटिहोम आयोजक बीचको झडपले समापनको दिन बितण्डा देखिएको छ । प्रहरी सँगको झडप पछि कोटिहोम मंच परिसरमै नेपाल भ्यूजका पत्रकार श्याम सुन्दर पुडासैनीसहित एकजना प्रश्नकर्ता पनि कुटिएको घटनाले  कोटिहोम समूह एकपटक फेरि विवादमा तानिएको छ ।

सुरुमा प्रहरीसँगको झडप, कसरी बढ्यो तनाव ?

राति १० बजेतिर कोटीहोम छेउको पार्किङ स्थलमा आएका कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तका सादा पोसाकका प्रहरी कुरेर बसेका थिए । विजयले प्रहरीको आग्रह अस्वीकार गरे । उनीसँगै साथमा भएका सहयोगीले प्रतिकार गर्न थाले ।

समर्थक सहयोगीको घेरामा त्यहाँबाट कोटिहोम मूल समारोह मंचमा आएर आफ्नो फेसबुक लाइभमार्फत कृष्णमूर्तिले भने, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबैजना पशुपति आउनुस् ।’ साथै विजयकृष्ण समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । आफ्ना समर्थकको घेरामा रहेका भण्डारीले उत्तेजक अभिव्यक्ति दिए । उनले पशुपति मन्दिर अब रणभूमि बन्ने बताएका थिए । नेपालको हालत श्रीलंका र बंगलादेशजस्तो बनाइदिने चेतावनी पनि दिए । प्रहरीले पक्राउ गर्न खोजेपछि उनले आफू समर्थित पत्रकारहरुलाई समेत आउन आवह्न गरे ।

उक्त लाइभ भिडियोमा ‘हाम्रो कन्ट्र्याक्टका पत्रकार कहाँ छन् ?’ भन्दै लाइभकर्ताले आक्रोश व्यक्त गरेको प्रष्ट सुनिन्छ । कोटिहोमको प्रचारप्रसारका लागि भण्डारीले सयौं युट्यूबर, अनलाइन पोर्टल, मिडिया र सञ्चारकर्मीलाई कन्ट्रयाक्टमा लिएका थिए ।

तर, शुक्रबार राती समापनको दिन एकाएक उक्त घटना हुँदा ती पत्रकारहरु घटनास्थल पुग्न भ्याएका थिएनन् । जस प्रति आक्रोशीत बनेका आयोजक टोलीले लाइभ भिडियो मार्फत नै ती पत्रकार, सञ्चारकर्मी र मिडियाहाउसलाई हक्पाउँदै कोटिहोम मञ्च परिसरमा आउन डाकेको सुनिन्छ । त्यसपछि केही संख्यामा पत्रकार सञ्चारकर्मी घटनास्थल पुगे । भण्डारीको फेसबुक पेजलगायत अन्य सञ्चारकर्मीहरुको पेज बाट घटना स्थलका प्रायः सबै लाइभ सम्प्रेषण गरिएको थियो ।

समर्थकले निरन्तर नारावाजी र अवरोध गरेपछि प्रहरी टोली फिर्ता हुन बाध्य भए । तर, त्यसपछि पनि तनाव रोकिएन । भण्डारी र उनका समर्थकले कोटीहोमको मञ्चमा उभिएर चर्का चर्का भाषणहरु गरे । उनीहरुले प्रहरी र सरकारलाई लल्कारे । उनका समर्थक र सहयोगीले नेपाल प्रहरी, प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक सहित सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

समाजिक संजालमा देखिए अनुसार प्रहरीमाथि भण्डारीका समर्थक जाइ लागे । प्रहरीले पनि सामान्य बल प्रयोग गर्दा केही घाइते भएको जनाइएको छ । दुई पक्षको बिचको यो झडपमा परेर प्रहरी वृत्त गौशालामा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक घाइते भए । समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य बनेको थियो ।

प्रहरीसँगको झडप पछि मध्यरातमा पत्रकार कुटपिट

मध्यराततिर फेरि एकपटक झडप भयो । एक ‘आलोचक’ ले आयोजक भण्डारीलाई महायज्ञको हिसाब गर्न माग गरेपछि भण्डारीका समर्थकले ‘भिजिलान्ते’ भन्दै उनीमाथि खनिएका थिए । ती आलोचकमाथि पनि लाठी प्रहार समेत भएको भनिएको छ ।

यसैबीच धार्मिक स्थल कोटिहोममा भैइरेहेको बितण्डाबारे रिपोटिङको लागि कोटिहोम पुगेको नेपाल भ्यूजका पत्रकार श्याम सुन्दर पुडासैनीमाथि पनि कृष्णमूर्तिका समर्थकले हातपात गरे । पत्रकार पुडासैनी माथि भएको कुटपिटको भिडियो संजालहरुमा राखिएको छ । गएराति कोटिहोममा भएको तनावबारे रिपोर्टिङका लागि पुगेका पुडासैनीमाथि हातपात भएको हो ।

पत्रकार पुडासैनीमाथि भण्डारीका समर्थक जाइलागे । उत्तेजित माहोलबारे नेपाल भ्यूजको पेजमा लाइभ विश्लेषण गरेका पुडासैनी भण्डारीका समर्थकका निशानामा परे । उनले घटनालाई ब्रिफ गर्दै क्याप्सनसहित नेपाल भ्यूजको आधिकारिक पेजबाट १ घण्टा १ मिनेट १६ सेकेण्डको लाइभ गरेका थिए ।

त्यसपछि उक्त लाइभ देखेर भडकिएका भण्डारीका समर्थकले पत्रकार पुडासैनीलाई मञ्चमै बोलाएर उपहासपूर्वक माला लगादिए र मञ्चबाट धक्कामुक्का गर्दै आफूलाई घेरेर कुटेको तथा हेल्मेट, पर्स, पत्रकार परिचयपत्रलगायत आफूसँग भएका केही सामग्री पनि लुटिको पत्रकार पुडासैनीले बताएका छन् ।

उनले आफ्नो सामाजिक संजालमा लेख्दै आफूमाथि सांघातिक आक्रमण भएको जनाएका छन् ।

पत्रकार पुडासैनीले सामाजिक संजालमा लेखेका छन्, “म बाँचेर आउन सफल भएँ । पशुपति कोटीहोमको रणमैदानमा बाँच्नु सामान्य कुरो थिएन । नपत्याए, विभिन्न फेसबुक पेजका लाइभ भिडिओ हेर्नुहोला । सत्यको खोजीमा मैले उठाएका प्रश्नहरूको उत्तर कुटपिट र आक्रमणबाट मतिर फर्किए । आयोजकमाथि प्रश्न उठाउँदै कुटिने व्यक्ति म दोस्रो हुँ, अर्का एक आयोजककै नियन्त्रणमा छन् । उनको टाउको फुटेको छ । धन्न मेरो जोगियो । लाइभ भिडियोमा मलाई कुटपिट गर्दै पछ्याएको देख्नुहुने छ । कतिपयले मार्नुपर्छ भन्दै अन्धाधुन्ध आक्रमण गरे । हेल्मेट र पर्स मात्र होइन, पत्रकार परिचयपत्र र मसँग भएका केही सामग्री पनि लुटियो । भिडको क्रोधले घेराबन्दी गरेर मलाई मञ्चसम्म उचाल्यो । जबरजस्ती फूलमाला र खादा लगाइयो । त्यो दुर्व्यवहार थियो । पछि मञ्चबाट झारेर बाहिर लगेर टाउको र जीउमा अन्धाधुन्ध आक्रमण गरियो । धन्न, म बेहोस हुन नपाउँदै भाग्न सफल भए । धन्न मुलसधारे पानी परेको रहेछ र मलाई प्राण दियो । भागेर पार्किङमा पुग्दा पुग्दै, मेरो पछि लाग्दै आएका युवाहरूको आक्रोश भाटा र ढुङ्गामा परिणत भयो । हेलमेटदेखि जुत्तासम्म रहेनछ । च्यातिएकै भए पनि जीउको कपडा रहेछन् । धन्न चाबी च्यातिएको गोजीमै रहेछ । बाइक स्टार्ट गरेर मुसलधारे पानीमा रुझ्दै आइपुगेँ । मलाई पच्छाउँदै आएका केही बाइकहरू कता लागे पत्तो भएन । टाउकोमा चोट त छैन तर घेरै टुटिला छन् । पाताहरू चलाउन नहुनेछन् । सायद एक्स्रेमा केही रिर्पोट आउला । खुट्टामा चिर्पट लागेको चोट छ । अहिले उपचारमा केन्द्रित छु । काठमाडौं प्रहरी प्रमुख र गौशाला वृत्त प्रमुखलाई कुटपीट र लुटपाटको घटनाबारे जानकारी गराएको छु । मेरो ज्यान लिने प्रयास गर्ने आयोजक विजय भण्डारी, उद्घोषक र केही युवाहरूलाई चिन्दछु । कतिपयलाई म चिन्दिन । मैले नचिनेका उनीहरु को थिए, अरूले खिचेका भिडिओ रेकर्डमा भेटिएलान् । कानुनी प्रक्रियामा जानेछु । र धर्मको खोल ओढेर लुट्ने धन्दामाथि सधैँ प्रश्न उठाइरहनेछु ।”

नेपाल भ्यूजका पत्रकार पुडासैनीले उक्त घटनामा अर्का एक जना प्रश्नकर्ता पनि कुटिएका र निज आयोजककै नियन्त्रणमा रहेका लेखेका छन् । पत्रकार पुडासैनी आफैं अहिले स्वास्थ उपचारमा छन् भने, उक्त घटनाबारे उपल्बध भिडियो अडियोको आधार र प्रमाणमा कानुनी प्रक्रियामा जाने बताएका छन् ।

घटनाबारे सात सदस्यीय छानबिन समिति गठन

नेपाल भ्यूजले लेखेको समाचार अनुसार पशुपति कोटीहोममा भएको उक्त घटनाबारे सात सदस्यीय छानबिन समिति गठन भएको छ । सुरक्षा समितिका सदस्यहरु र आयोजकबीचको सहमतिपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन भएको हो । समितिले १५ दिनभित्र घटनाबारे प्रतिवेदन पेश गर्नेछ । साथै, घटनाका दोषीलाई कारबाही गर्ने सहमति पनि भएको छ ।

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

नेपाल पत्रकार महासंघले नेपालभ्युजकर्मी श्यामसुन्दर पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । रिपोर्टिङमा पुगेका पत्रकारमाथि भएको कुटपिट र लुटपाटका घटनाले उक्त कार्यक्रमका आयोजकको आपराधिक मनोवृत्ति देखिएको महासंघले जनाएको छ ।

‘यो संविधानप्रदत्त प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । पत्रकारमाथि सांघातिक आक्रमण गर्ने आयोजक र व्यक्तिहरू पहिचान गरी कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघ सरकारसँग माग गर्दछ ।’ महासंघले भनेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top