अमेरिकी दूताबासमा ‘प्राइड मन्थ’बारे चर्चा


काठमाडौं । विश्वभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूदायका व्यक्ति एवं संस्थाहरुले जुन महिनालाई ‘प्राइड मन्थ’का रुपमा मनाइरहेका छन् । यसै सिलसिलामा प्राइड महिनाको सम्मानमा, काठमाडौँस्थित अमेरिकी दूतावासले विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै दूतावासभित्र विशेष प्यानल छलफल आयोजना गरेको छ ।

प्यानलमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका व्यक्तिहरु सिम्रन शेरचन (फेडेरेसन अफ सेक्शुअल एण्ड जेन्डर माइनोरिटिज नेपाल), शैली चौधरी (दलित लाइभ्स म्याटर), सुदीप गौतम (युनिटी फर चेन्ज), र सुभाष काफ्ले (ब्लु डायमण्ड सोसाइटी) सहभागी भएर अधिकारका विषयमा बहस गरे ।

कार्यक्रमले समुदायभित्रका आवाजलाई बलियो बनाउन र अर्थपूर्ण संवादका लागि मञ्च तथा सुरक्षित स्थान प्रदान गर्ने उद्देश्य राखेको दूताबासले जनाएको छ । छलफलले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका व्यक्तिहरुका अधिकारमा भएको प्रगति, समुदायभित्रको अन्तरसम्बन्धितताको महत्व, उनीहरुको दृढता र शक्तिलाई उजागर गर्ने व्यक्तिगत अनुभवहरूलाई विशेष रूपमा प्रस्तुत गरेको थियो ।

हरेक वर्षको अंग्रेजी जुन महिनालाई  यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गौरव महिनाको रुपमा मनाउँदै आएका छन्। अन्तर्राष्ट्रिय प्राईड मन्थले समुदायप्रति हुने गरेका हरेक किसिमको फोबिया विरुद्ध एकजुट भएर लड्ने प्रण गर्दछन् ।

प्राइड महिनालाई सन् १९६९ मा स्टोनवॉल दंगाहरूसँग सुरु भएको समानताको लागि संघर्षको इतिहासलाई सम्झदै र साहसी व्यक्तिहरूले गरेका बलिदानहरूको सम्मान गर्ने गरिन्छ । महिनाभर रंगीन परेडहरू, संगीत, नाचगान गर्दै एकअर्कासंग खुशी साट्दै मनाउने चलन छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top