काठमाडौं । प्रधानमन्त्री ‘प्रचण्ड’ले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताएका छन् । उनले चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे ।
पोखरा रङ्गशाला, बेलझुण्डी रङ्गशाला, च्यासल रङ्गशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मूलपानी रङ्गशाला, भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको जनाएका छन् ।
सरकारले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको दाबी गरेका हुन् ।
पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमानी हासिल गरेको उल्लेख गर्दै यस्ता उपलब्धी हुनु देशका लागि उत्प्रेरणा प्रदान गरेको तर्क गरे । राष्ट्रिय खेलकुद परिषद्ले ६१ वटा राष्ट्रिय सङ्घहरू निक्र्यौंल गरेको उनले भने।






