सत्यनारायणको फोटो नराखे, कृष्णप्रसादको फुटाइदिन्छौं : आङकाजी


काठमाडौं । जनजाती नेता आङकाजी शेर्पाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुगेर महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको तस्विर फुटाइदिने धम्की दिएका छन् ।

सोमबार केही युवाहरुका साथमा महासंघको केन्द्रीय कार्यालय संचारग्राम पुगेका शेर्पाले सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने र उनको तस्विर तत्कालै महासंघ अध्यक्षको कार्यकक्षमा झुन्ड्याउन कर्मचारीलाई चेतावनी दिए । उनले श्रेष्ठको तस्विर संस्थापक अध्यक्ष भट्टराईसँगै नझुण्ड्याए आफूहरुले कार्यकक्षमै पसेर भट्टराईको तस्विर फालिदिने धम्की दिएको कर्मचारीहरुले बताए ।

शेर्पाले महासंघका कर्मचारीलाई श्रेष्ठको फोटो थमाउँदै भने, ‘अध्यक्षको कार्यकक्षमा भएको कृष्णप्रसाद भट्टराईको फोटो हट्नुपर्यो । होइन भने हामीले फोटो तोड्नुपर्ने अवस्था नआओस् । अध्यक्षको कार्यकक्षमा कृष्णप्रसाद भट्टराईको अगाडि सत्यनाराण बहादुर श्रेष्ठको फोटो राखिएन भने हामी एउटा पनि फोटो बाँकी राख्दैनौं ।’

उनले थपे ‘एक महिनाभित्र यो चेन्ज भएन भने हामीबाट कुनैपनि प्रकारको भौतिक कारबाही हुनसक्छ । यो विवाद हामीले होइन पत्रकार महासंघले निकालेको हो ।’

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को विरोधकाबीच आइतबार विमोचन गरिएको थियो । सो क्रममा फोनिजका पदाधिकारीहरुले पुस्तक च्यातेर ‘उग्र हर्कत’ देखाएका थिए ।

यता, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष वालकृष्ण अधिकारीले पुस्तक प्रकाशन गरेर रचनात्मक र सकारात्मक कार्य गरेको प्रतिक्रिया दिएका छन् ।

पुस्तक च्यात्ने कामप्रति दुःख व्यक्त गर्दै उनले तथ्यांकमा नपुगी संगठनको सिमा र बाध्यता विपरीत विमोचनमा भएको हर्कत पत्रकार र पत्रकारिता क्षेत्रका लागि अशोभनीय कुरा भएको बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top