‘समुदायमा कांग्रेस’ अभियान
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ । स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन, आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमीका लागि पार्टीले अभियान थालनी गरेको हो ।
यही मेसोमा महामन्त्री गगन थापाले भने अभियानमा पृथकता देखाएका छन् । उनले झापाको मेची पुलनजिकबाट संवाद यात्रा सुरु गरेका छन् । जनतामा छाएको निराशा चिर्न र नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप आफ्नो यात्रा फरक हुने उनले उल्लेख गरेका छन् ।
‘कोशी प्रकरणले कांग्रेस–माओवादीबीच टकराव’
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनभित्र घात गर्दै एमालेकी रुक्मिणी कोइरालालाई जिताएको भन्दै माओवादी केन्द्र असन्तुष्ट छ । अब प्रधानमन्धी पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री हुने सहमति कार्यान्वयन नगर्ने हुन् की भन्ने शंका कांग्रेसवृत्तमा देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज २०६२-६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहँदा पनि पार्टी कार्यकर्ता मौन बसेको भन्दै प्रतिवाद गर्न उत्साए । उनले ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरुको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरुले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश पोखे । उनले १७ हजार भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै कार्यकर्तालाई त्यो जोस कता गयो भन्दै उक्साए ।
समग्रमा आज दिनभर, ‘कोशी प्रकरणले कांग्रेस–माओवादीबीच टकराव,’ ‘विश्वप्रकाशले भनेः हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन्,’ ‘अघि बढेका परियोजना नेपाल–चीनबीच मित्रताको प्रमाण हुन्,’ ‘धरहराको पहिलो तलामा निःशुल्क पार्किङ,’ ‘कोशीको गडबडी छानबिन हुनुपर्छ’ लगायत शीर्षकका समाचार प्रमुख रहे ।
यी हुन् आजका प्रमुख समाचार :
कोशी प्रकरणले कांग्रेस–माओवादीबीच टकराव
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचिन परिणामप्रति माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । कोशी प्रदेशमा सत्ता साझेदार दल कांग्रेसबाट धोका भएको बताउँदै उनले गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृहजिल्ला रोल्पा पुगेका पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गरे ।
बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीले चम्पादेवी कार्कीलाई उम्मेदवार थिए । तर सिटौला विजयी हुँदा कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन । उक्त घटनालाई लिएर पुन मात्र होइन सिंगो माओवादी केन्द्रभित्र तरंग छ ।
पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे । यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनको भनाइ थियो ।
पुनको यस्तो अभिव्यक्ति सार्वजनिक हुनु अगावै सत्तारुढ गठबन्धनले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै मत क्रस गर्नेलाई कारवाहीको चेतावनी नै दिइसकेका छन् । आधिकारिक उम्मेदवारलाई मत नहाल्ने जनप्रतिनिधिको विषयमा छानबिन गरी अनुशासनको कारबाही गर्ने गठबन्धनले चेतावनी दिएको छ ।
‘गठबन्धनको निर्णयविपरीत मतदान गर्ने गठबन्धन दलका गैरजिम्मेवार तथा निकृष्ट जनप्रतिनिधिहरुको सम्बन्धमा यथाशीघ्र छानबिन गरी अनुशासनको दायरामा ल्याउन हामी प्रतिवद्ध छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । गठबन्धन दलका कोशी प्रदेशसभाका संसदीय दलका नेताहरु कांग्रेसका उद्धव थापा, माओवादी केन्द्रका इन्द्र आङ्वो, एकीकृत समाजवादीका राजेन्द्र राई र जसपाकी निर्मला लिम्बुले विज्ञप्ति जारी गरेका हुन् ।
कोशीमा मत क्रसको विषयले संघीय सरकारको समीकरणमै पनि असर पु¥याएको छ । विशेषगरि माओवादी केन्द्रका नेताहरु बढी रुष्ट छन् । कोशीको प्रकरणलाई सामान्य रुपमा नलिन प्रधानमन्त्रीसमेत रहेका आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । नेताहरुले कोशीका विषयमा कांग्रेसको संस्थागत धारणा मागेका छन् । माओवादी नेताहरुले कांग्रेसको एक समूहले भोट नदिएको आरोप लगाएका छन् ।
जसका कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई तुरुन्त भेटवार्ता गरेर आगामी दिनका विषयमा छलफल गर्न नेताहरुले प्रचण्डलाई दबाब बढाएका छन् । कांग्रेससँगको सत्ता यात्राको पनि समीक्षा गर्नुपर्ने अवस्थामा नेताहरु पुगेका छन् । कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेससँगको सत्ता सहयात्रा पुनर्विचार गर्नुपर्ने ठाउँमा पुगेको प्रतिक्रिया दिइसकेका छन् । कांग्रेसको डा.शेखर कोइराला समूहले धोका दिएको उनको आरोप छ ।
राष्ट्रिय सभा अध्यक्षका रुपमा हेरिएका कृष्णप्रसाद सिटौलालाई कोशी प्रकरणले असर गर्नसक्ने अनुमान सुरु पनि भइसकेको छ । कोशी प्रकरणपछि माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पद आफैंसँग राख्न दबाब बढाएका छन् । सत्ता हस्तान्तरण गरेको खण्डमा संवैधानिक पदमा माओवादी एक जना पनि नहुने भएपछि राष्ट्रियसभा अध्यक्ष आफैंसँग राख्न अध्यक्ष दाहाल दबाबमा छन् । कांग्रेसका कारण कोशीमा यसअघि माओवादी केन्द्रले सभामुख र मुख्यमन्त्री पद गुमाउनुपरेको हिसाबकिताब गरेको छ ।
किनकी ५९ सीट रहेको राष्ट्रियसभामा अध्यक्षका लागि ३० मत चाहिन्छ । राष्ट्रियसभामा पहिलो बनेको माओवादीको उपाध्यक्षसहित १७, कांग्रेसको १६, एमालेको १०, एकीकृत समाजवादीको ८, जसपाको ३, लोसपा र जनमोर्चा तथा स्वतन्त्रको एक–एक जना छन् ।
जसमा माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा मिले ३० सांसद संख्या पुग्ने भएकाले माओवादीलाई अध्यक्ष बन्न सहज हुने हिसाब माओवादी नेताहरुको छ । तर माओवादी नेताहरुले गरेको हिसाबकिताब जस्तो समीकरण नै फेरबदल हुनसक्ने अवस्था छैन । कांग्रेस पहिलो र बलियो शक्ति भएकाले गठबन्धनमा रहेका दलहरुले माओवादीलाई मात्र साथ दिएर अघि बढ्छन भन्ने अनुमान गलत हुनेछ ।
कोशीमा गठबन्धनका तीन सांसदले एमाले उम्मेदवारलाई मतदान गरेको खुलेको छ । कोशी प्रदेशमा १३७ स्थानीय तहका प्रमुख र उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए । आउँदो फागुन २० गतेदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिदैछ । राष्ट्रपतिबाट एक जना मनोनित हुनेछन् १९ जना निर्वाचित भइसकेका छन् ।
‘१७ हजारको हत्यारा भन्नेहरूलाई प्रतिवाद नगर्ने ?’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२-६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरुको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरुले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश पोखे ।
‘आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् ? १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ । तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौं । १७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ । तर हामीले प्रतिवाद नगर्ने ?,’ उनले भने, ‘कोही नलेख्ने, कोही नबोल्ने ? कस्ता भयौं त हामी ? हिजो भए हामी सहन्थ्यौं त ? के गथ्र्यौं हिजो भए ? कस्तो प्रतिवाद गथ्र्यौं ? हाम्रा महान सहिदको सहन सक्दैनौं भनेर मुट्ठी उठाएर बोल्न किन आँट आएन ? किन जोस आएन ? हाम्रा १० हजार राष्ट्रिय महान सहिद हुन् भनेर देशभर कार्यक्रम गर्न केले रोक्छ ? हामीलाई हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन्, तिनलाई ठाउँको ठाउँ जवाफ किन दिन सकेनौं ?’
गत मंसिर २३ गते कोरिया भाषा परीक्षा (ईपिएस) मा सहभागी गराउन माग गर्दै भएको प्रदर्शनमा दुई युवकको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यसकै भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ‘१७ हजार प्लस दुई बराबर कति?’ लेखिएको ब्यानर बोक्दै प्रदर्शन गरेकी थिइन् ।
दाहालले माओवादीलाई १७ हजारको हत्यारा भन्नेहरूलाई नै तिमीहरू हत्यारा हौं भनेर प्रतिवाद गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । त्यस्तै, उनले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने घोषणा गरे । सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्न मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने काम प्रक्रियामा रहेको बताए । जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई सहिद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत उनले दिए ।
उनले अघि भने, ‘यहाँ छुट भएका केही म तपाईहरुलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको सहिद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ ।
विश्वप्रकाशले भने : हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन्
झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुलनजिकबाटे संवाद यात्रा शुरु गरेका छन् । जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको उनले बताए । यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताएका छन् । उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । महामन्त्री थापाले आफूहरु भुइँ मान्छेको प्रतिनिधि भएको जिकिर गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए ।
महामन्त्री थापाले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको सालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकन लगायत गरिएको बताए । कार्यक्रममा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताए । पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।
शर्माले थापालाई प्रधानमन्त्री बनाउने पनि दोर्होयाए । महामन्त्री शर्माले भने, ‘हाम्रो पुस्ताबाट गगन थापा नै प्रधानमन्त्री हुने हो । प्रधानमन्त्री हुने मान्छे जनताका कुरा सुन्न संवाद यात्रामा निस्कनु भएको छ । यसले नयाँ सन्देश प्रवाह गर्नेछ ।’ समुदायमा कांग्रेस अभियान अन्तर्गतको यात्रा शुभारम्भ कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा लगायत सहभागी थिए । कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी यही माघ १२ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो ।
महामन्त्री थापाले शनिबार नै झापा चोकमा चिया संवाद, कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन, कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम छ । संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम छ । संवाद यात्रा माघ २६ गतेसम्म चल्ने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए ।
नेपाल आउँदै क्यानाडाको राष्ट्रिय क्रिकेट टिम
विराटनगर । क्यानाडाको राष्ट्रिय क्रिकेट टिम एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने निश्चित भएको छ । क्यानाडाले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ । क्यानेडेली क्रिकेट टिम जनवरी २८ मा हङकङ जाने र त्यहाँका खेल गतिविधि सकेपछि फेब्रुअरी पहिलो साता नेपाल आउने निश्चित भएको हो ।
यसअघि नेपाली टोली क्यानाडा गएर खेल खेलेको थियो । क्यानाडाको क्रिकेट टोली भने पहिलो पटक नेपाल आएर खेल्न लागेको हो । टिम क्यानाडाले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग फेब्रुअरी १०, १२ र १४ मा काठमाडौंमा तीनवटा एक दिवसीय खेल खेल्नेछ ।
क्रिकेट एसोसिएसन अफ नेपालले २०२४ को खेल क्यालेण्डरमा दुई देशबीच एक दिवसीय क्रिकेट म्याच हुने घोषणा गरिसकेको छ ।
उक्त क्यालेण्डर प्रकाशनका बेला नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले नेपाल भ्रमणका क्रममा क्यानाडाले १० दिन प्रशिक्षण पनि गर्ने जनाएका थिए । प्रशिक्षणका क्रममा नेपालको ‘ए’ टिमसँग कम्तीमा तीनवटा ५० ओभरको खेल र ट्वान्टी–२० खेल खेल्ने बताएका थिए ।
नेपालसँग तीन एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेलेपछि क्यानाडाले १० दिन मूलपानीमा अभ्यास गर्दै नेपाल ‘ए’ सँग थप खेलहरु खेल्ने जनाइएको छ । नेप्लिज क्यानेडियन क्रिकेट क्लबका पूर्वअध्यक्ष तथा एनआरएनए क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठले क्यानाडा र नेपालको मित्रतापूर्ण सम्बन्धको निरन्तरता स्वरूप यो भ्रमण हुन लागेको उल्लेख गरे।
नेपालको राष्ट्रिय टिमले गत वर्ष क्यानाडा भ्रमण गरेर मैत्रीपूर्ण खेल खेलेको थियो । नेप्लिज क्यानेडियन क्रिकेट क्लब लगायतका नेपाली संघ संस्थाले टिम क्यानाडालाई औपचारिक बिदाइ कार्यक्रमको आयोजना गरेको अन्टारियोमा रहेका नेपाली सञ्चारकर्मी बेनुप भट्टराईले जानकारी दिए ।
‘अघि बढेका परियोजना नेपाल–चीनबिच मित्रताको प्रमाण हुन्’
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन नेपाल र चीनबीचको दिगो मित्रताको प्रमाण भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन कार्यक्रममा बोल्दै उनले दिगो विकासलाई प्रवर्धन गर्न र साझा चुनौतीहरूलाई सम्बोधन अघि बढाइएका परियोजनाहरुलाई प्रयोग गर्न सकिने बताए । उनले सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन नेपाल र चीन बीचको दिगो मित्रताको प्रमाण भएको बताएका हुन् ।
उनले भने,‘मिलेर काम गर्नसके दिगो विकासलाई प्रवर्धन गर्न, साझा चुनौतीहरूलाई सम्बोधन गर्न र भविष्य सिर्जना गर्न डीआरआईको पूर्ण क्षमता प्रयोग गर्न सक्छौं । सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलनले आशा र सहयोगको ज्योति प्रतिनिधित्व गर्दछ । यो नेपाल र चीनबिचको दिगो मित्रताको प्रमाण हो ।’
उनले सरकार बीआरआई परियोजनाको कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने प्रक्रियामा रहेको जानकारी दिए । चीनसँग बीआरआई एमओयूमा हस्ताक्षर गरिसकेको भन्दै कार्यान्वयनको योजनामा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् ।
‘चीनको बेल्ट एण्ड रोड पहल दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिन परिवर्तनकारी शक्तिको रूपमा उभिएको छ । हामीले चीनसँग बीआरआई एमओयूमा हस्ताक्षर गरिसकेका छौं,’उनले भने,‘हामी बीआरआई परियोजनाको कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने प्रक्रियामा छौं । हामी आशा गर्छौं कि यो छिट्टै हुनेछ र पछि हामी विशेष परियोजनाहरूमा जानेछौं ।’
गृहमन्त्री श्रेष्ठले नेपाल र चीनबिच विद्यार्थीहरूको आवतजावतलाई सहजीकरण गर्नसके व्यक्तिगत विद्यार्थीको शैक्षिक यात्रालाई मात्र समृद्ध नबनाई विश्वव्यापी मानसिकताको विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे । नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा गहिरो जरा गाडिएको उनको भनाइ छ ।






