लोकतन्त्र टाइम्सको शुभारम्भ : सडकदेखि सदनसम्मको आवाज बन्ने


काठमाडौं । नेपाली मिडिया क्षेत्रमा सडकदेखि सदनसम्मको आवाज बन्ने उद्देश्यसहित लोकतन्त्र टाइम्स मिडिया प्रा.लि.ले आफ्नो अनलाइन पोर्टल ‘लोकतन्त्र टाइम्स डटकम’ को औपचारिक रुपमा प्रसारण सुरु गरेको छ । विक्रम संवत् २०८० साल माघ ५ गते नवमी तिथिको शुक्रबार दिन लोकतन्त्र टाइम्स मिडिया प्रा.लि.ले नेपाली मिडिया जगतमा अनलाइन पोर्टलसहित मल्टिमिडियाको प्रसारण आरम्भ गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा लोकतन्त्र टाइम्स मिडिया प्रा.लि.का अध्यक्ष प्रिन्स मिश्रले लोकतन्त्र टाइम्स डटकमको उद्घाटन गरेका हुन् । सरकार र सम्बन्धित निकायहरूबाट लाइसेन्स प्राप्त यो संस्थाले लोकतन्त्र टाइम्स नामक अनलाइन पोर्टलसहित सोही नामको युट्युब च्यानल, फेसबुक पेज, टुइटर ह्यान्डल, इन्स्टाग्राम अकाउन्टलगायतका विभिन्न सामाजिक सञ्जालमार्फत देशव्यापी रुपमा वर्षको ३६५ दिन नै आफ्ना उच्च गुणस्तरीय विद्युतीय समाचार सम्प्रेषणसहित डिजिटल च्यानलहरूको प्रसारण समेतबाट समाचार सेवा प्रदान गर्नेछ ।

लोकतन्त्र टाइम्सले समाज, राजनीतिक, मनोरञ्जन र अर्थलाई आफ्नो प्रमुख चार स्तम्भको रुपमा सशक्त देखाउने जनाइएको छ । त्यस्तै देशको समसामयिक घटना, शिक्षा र जनस्वास्थ्यलगायतका विभिन्न आम जनचासोका विद्यामासमेत सजग र प्रभावशाली ढंगले मिडिया अघि बढ्नेमा लोकतन्त्र टाइम्सका अध्यक्ष मिश्रले प्रतिवद्धता जनाएका छन् ।

‘‘हामी बोल्छौँ सडकदेखि सदनसम्मको मुद्दा’’ भन्ने मूल नारा सहित आरम्भ भएको लोकतन्त्र टाइम्सले देशमा घटित जुनसुकै जनसरोकारका विषयलाई यस मिडियाको आफ्नै सरोकारको विषय बनाउने बताइएको छ । लोकतन्त्रलाई सुदृढ र सवलिकरणका निम्ति लोकतन्त्र टाइम्स ३ सय ६५ औं दिन नै मैदानमा जागरुक रहनेमा यस मिडियाका सह-सम्पादक विकाश चापागाँईले जनाएका छन् ।

लोकतन्त्र टाइम्स दबिएका र दबाइएकाको आवाज बन्नुपर्नेमा वरिष्ठ पत्रकार जगन्नाथ दुलालले बताए । उनले संस्थाको उन्नति र प्रगतिका लागि स्वेच्छा समेत व्यक्त गरे । साथै लोकतन्त्र टाइम्सले पछिल्लो समय मुलुकको धर्मराइरहेको लोकतन्त्रलाई सुदृढ गर्न अह्म भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै लोकतन्त्र टाइम्स समाजिक परिवेशबाट सशक्त रुपमा अघि बढ्नेमा आफू आशावादी रहेको सामाजिक कार्य विश्लेषक एवं उद्यमी रुकेश घिमिरेले जनाएका छन् ।

देशको अवस्था र भुइँमान्छेको कथालाई ध्यानमा राखेर लोकतन्त्र टाइम्स डटकमले आफ्नो सेवालाई आरम्भ गरेको र जनाताको आवाज बन्नेमा सबैभन्दा भरपर्दो माध्यम बन्नेमा लोकतन्त्र टाइम्स प्रतिबद्ध रहेको मिडियाका सम्पादक बालजुगेश्वर झाले बताएका छन् ।

सडकका निमुखादेखि सदनका सुकिलाबीच सशक्त पुलको काम गर्ने र आम जनमानसमा समर्पित रहनेमा कम्पनीको प्रतिवद्धता छ । कुनै समाचार सम्प्रेषण गराउनु पर्ने भएमा तथ्य प्रमाणसहित आधारसहितको समाचारलाई लोकतन्त्र टाइम्सले प्राथमिकतामा राख्नेछ । लोकतन्त्र टाइम्समा समाचार सम्प्रेषण गराउन लोकतन्त्र टाइम्सको वेबसाइट वा सम्बन्धित अन्य कुनै सामाजिक सञ्जालमा गएर सम्पर्क गर्न सक्नुहुनेछ ।

आजबाट औपचारिक रुपमा सुरुवात भएको लोकतन्त्र टाइम्स डटकमका शुभारम्भ कार्यक्रममा संस्थाका अभिभावक संरक्षकद्वय सुनिल कुमार मिश्र र मालती देवी, प्रमुख अतिथि रुकेश घिमिरे, विशिष्ट अतिथि वरिष्ठ पत्रकार जगन्नाथ दुलालसहित, सी.ए. अबिशेष कुमार कर्ण, आइटी निरज पाण्डे, सह–सम्पादक विकाश चापागाईं, संवाददाता आकाश खनाल, चन्द्रदेवलाल कर्ण, रोशनी मिश्र, रेश्मी मिश्र, प्रज्ञान झालगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

शुक्रबारबाट लोकतन्त्र टाइम्स डटकममा औपचारिक रुपमा समाचार सम्प्रेषण भएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top