काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले कलंकको टीका नलगाई मन्त्री पदबाट बाहिरिने बताएका छन् । मन्त्री पदमा रहुन्जेल मन्त्रालयले दिएको जिम्मेवारी सुशासनमा रहि कुशलतापूर्वक र किसानको हितमा काम गर्ने बताएका हुन् ।
‘सक्दा राम्रो गर्ने हो, तर नसक्दा मन्त्री पदबाट बाहिरिदा कलंकको टिका नलगाई बाहिनेछु’ उनले भने । ‘सकेसम्म किसानको हितमा शिर उच्च बनाउने राम्रो काम गर्नेछु । तर गलत काम गर्दिन । तपाईहरु विश्वास गर्नुस्, कलंकको टीका नलगाई मन्त्री पदबाट बाहिरिनेछु । नागरिक समाजसँग टाढा छैन । फेरि यहि उपस्थित हुन्छु ।’ उनको तर्क छ ।
त्यस्तै, कृषि क्षेत्रमा चुनौतीको चाङ रहेको उनले बताए । ‘मल, बीउ विजन अभाव छ । विषादीको अत्यधिक प्रयोग भइ रहेका छन् । रैथाने बाली उत्पादन हुन्न, विकासे चिज प्रयोग गरौं भने जताततै बदमासी मात्रै छ । यस्ता थुप्रै समस्याहरु छन्’ उनले थपे – ‘कृषि क्षेत्रमा म विज्ञ त होइन । तर विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर म चाँडै भन्दा चाँडै एउटा संकल्प तयार गर्दैछु । किसानको हित हुने गरी कमजोरी नगरी प्राप्त जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेर हेर्न लायक केही न केही परिवर्तन हुने काम गर्छु ।’
गृह जिल्ला धादिङ आइपुगेका नव नियुक्त मन्त्री अधिकारीलाई नागरिक समाज संस्थाहरूले सम्मान गरेको छ। गृह जिल्ला धादिङ आइपुगेका मन्त्री अधिकारीसँग सोहि अवसरमा नेपाल प्रेस युनियन धादिङले पत्रकार सम्मेलन गरेको हो ।






