धादिङको नीलकण्ठ नगरपालिकामा सीप तथा रोजगार मेला २०८१ सम्पन्न


काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिकामा सीप तथा रोजगार मेला २०८१ सम्पन्न भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपि अर्यालको प्रमुख अतिथ्यतामा धादिङबेसीमा स्थित नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको ‘युवा सीप,तालिम तथा रोजगार मेला’ सम्पन्न भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले कार्यक्रमलाई भव्यताको साथ सफलताको शुभकामना प्रदान गर्दै निजी क्षेत्रलाई सवल बनाउन सके देशमा रोजगारीको सिर्जना हुनसक्ने बताएका छन् ।

उनले स्वदेशमा बसेर होस् वा बाध्यात्मक अवस्थामा विदेश जानु पर्दा सिप सिकेर जान सके आय आर्जन गर्न सकिने बताए । अर्यालले आगामी आर्थिक वर्ष साउनबाट देशभर सिप मुलक कार्यक्रम गर्नको लागि तयारी गरिरहेको भन्दै संघ प्रदेश र स्थानिय सरकारसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले रोजगार बैंक सञ्चालन गर्ने योजना अनुरुप तथ्याङ्क संकलनको कामलाई अघि बढाउन लागिएको बताए ।

यस्तै संघिय सांसद रामनाथ अधिकारीले मेलामा युवाहरुमा भएको सिपलाई प्रर्वद्धन गर्न नगरपालिकाले आयोजना गरेको मेलाले महत्वपूर्ण अर्थ राख्ने भन्दै तीन तहको सरकार मध्ये स्थानिय सरकारले गरेको यो मेलाबाट सबैले पाठ सिक्नुपर्ने उनको तर्क छ । अहिले सञ्चालनमा रहेको तिनै तहको सरकार रहर लाग्दो, भर लाग्दो र विश्वास लाग्दो गरि सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।

यसैगरि राष्ट्रिय युवा परिषद् नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेतले रोजगारी तथा अध्ययनको शिलशिलामा विदेश जाने युवा पुस्ताको मात्रै नेपाल सरकारले तथ्याङ्क राख्ने गरेको हुदा अध्ययन र रोजगार पश्चात स्वदेशमा फर्कनेको पनि एकिन तथ्याङ्क संकलन गरि रोजगार तथा सीप मेला जस्ता कार्यक्रमको आयोजना गरि व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे ।

सीप तथा सिकाई उपलब्धीलाई शैक्षिक क्रियाकलाप संग जोड्दै व्यवहारिक र प्रयोगात्मक शिक्षण प्रक्रियालाई प्राथमिकताको साथ विकास गर्दै निरन्तरता दिन आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले बताए ।

नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले नगरपालिकाले व्यवसाय गर्न ईच्छुक युवाहरुलाई सिपमुलक तालिम प्रदान गरि सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन समन्वयको काम गरिरहेको जनाकारी दिए । युवासँग उप-प्रमुख कार्यक्रम अन्तर्गत सञ्चालन भएको रोजगार मेलामा विभिन्न क्षेत्रका विषय विज्ञहरुसँग छलफल तथा वहषको कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top