मन्त्रीपरिषद् निर्णय : चलचित्र विधेयक ल्याउन सैद्धान्तिक स्वीकृति


काठमाडौं । सरकारले चलचित्र (निर्माण, प्रदर्शन र वितरण) सम्बन्धी विधेयक तर्जुमालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले संचार तथा सूचना प्रविधि मन्त्रालयले पेस गरेको फिल्म विधेयकको प्रक्रियालाई अघि बढाउन स्वीकृति दिने निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री मन्त्री रेखा शर्माले जानकारी दिइन ।

उनले भनिन्,‘सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा गरेको फिल्म निर्माण, प्रदर्शन र वितरण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।’ त्यस्तै सरकारले धितोपत्र बजार अध्ययन गर्ने भएको छ । यसका लागि मन्त्रीपरिषद्ले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ताणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने पनि सरकारले निर्णय गरेको छ । सरकारले नेपाल सरकार र कतार सरकारबीच प्रस्तावित कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top