६ जना पूर्वप्रधानमन्त्री सहित २३ जना उच्च पदस्थ व्यक्तिहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु !


काठमाडौं | सरकारले २०४६ सालको लोकतान्त्रिक आन्दोलनपछि सरकारको नेतृत्व गरेका जीवित सबै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ जना उच्च पदस्थ व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनालको सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन अघि बढाएको हो ।

यसैगरी मधेसवादी नेता तथा पूर्वमन्त्री उपेन्द्र यादव, शरदसिंह भण्डारी लगायतका नेताहरूको पनि सम्पत्ति छानबिन प्रक्रिया थालिएको छ । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने, “प्रधानमन्त्रीको आदेशअनुसार पूर्व ६ जना प्रधानमन्त्री र उनीहरूका आफन्तहरूको सम्पत्ति छानबिनका लागि सीआईबी मार्फत छिटोभन्दा छिटो पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको छ ।”

प्रधानमन्त्री बालेनले प्रहरी महानिरीक्षक तथा उच्च अधिकारीहरूलाई निरन्तर दबाब दिँदै सम्पत्ति छानबिन प्रक्रिया तीव्र बनाउन निर्देशन दिइरहेको स्रोतले बताएको छ । प्रहरी प्रधान कार्यालयले सीआईबीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान तीव्र बनाउन निर्देशन दिएको छ । अदालतबाट पक्राउ पुर्जी लिने कागजी प्रक्रिया पनि अघि बढाइएको छ । प्रारम्भिक चरणमा नै करिब २३ जना प्रभावशाली राजनीतिक व्यक्तित्वविरुद्ध पक्राउ पुर्जी माग्ने तयारी भइरहेको छ ।

पूर्व ६ प्रधानमन्त्री मध्य केपी शर्मा ओली भने ज्यान कसुरमा पक्राउ परिसकेका छन् । त्यसै उच्च पदस्ता मध्यका पूर्वगृहमन्त्री रमेश लेखक पनि सोही कसुरमा पक्राउ परे । यी दुबैलाई भाद्र २३ र २४ को घटनालाई आधार बनाएर समात्एिको हो भने सरकारले थप मुद्दा लगाउने तयारी गर्दैछ ।

कांग्रेस नेता दीपक खड्का पक्राउ

सीआईबीले आइतबार बिहान नेपाली कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई पक्राउ गरी अनुसन्धान थालिसकेको छ । अब पूर्वप्रधानमन्त्री देउवा, ओली, प्रचण्ड, भट्टराई, खनाल, नेपाल तथा पूर्वमन्त्री यादव र भण्डारीलाई पनि छिट्टै पक्राउ पुर्जी जारी हुने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ । प्रधानमन्त्रीको लगातार दबाबका कारण प्रहरी संगठनभित्र केही असजिलो स्थिति देखिएको छ तर सरकारको निर्देशन पालना गर्नुपर्ने भएकोले छानबिन अघि बढाइएको प्रहरीले स्पष्ट पारेको छ ।

उच्चस्तरीय छानबिन समिति गठन हुने

सरकारले २०४६ सालपछिका सबै उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरिसकेको छ । शक्ति र पहुँचको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आशंका गरिएका नेताहरूमाथि कानुनी कारबाही अघि बढाउने सरकारको योजना छ ।

भदौ २४ को जलेको पैसाको घटना मुख्य आधार

भदौ २४, २०८२ मा विभिन्न नेताको घरमा ठूलो परिमाणमा पैसा जलेको भिडियो सार्वजनिक भएपछि यो छानबिनले गति लिएको प्रहरीको दाबी छ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा पैसा जलेको थियो । प्रहरीले गंगा दाहालमाथि पनि छुट्टै अनुसन्धान अघि बढाएको छ । जलेको पैसाको स्रोत अवैध ठहरिएमा जफत गर्ने र सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत मुद्दा चलाउने योजना छ ।

प्रारम्भिक अनुसन्धानमा शंकास्पद आर्थिक कारोबार, अकस्मात् सम्पत्ति वृद्धि र आयस्रोतसँग नमिल्ने लगानीका प्रमाण फेला परेका छन् । यसले नेपालको राजनीतिक नेतृत्वको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ ।

देउवा दम्पतीलाई विदेशबाट झिकाउने तयारी

हाल उपचारका लागि विदेशमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई पनि अनुसन्धानका लागि नेपाल झिकाउने तयारी सरकारले गरिरहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top