काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ ।
उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
खड्का पक्राउबारे जानकारी दिँदै गृहमन्त्री सुधन गुरुले भनेका छन्, ‘खड्कालाई २४ भदौमा आन्दोलनको क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानको सिलसिलामा आज नियन्त्रणमा लिइएको हो ।’
सीआईबीले भने उक्त रकमबारे नबताई सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताएको छ ।
जेनजी आन्दोलनमा घर जलेपछि उनी भने धुम्बाराहीस्थित प्रेस्टिज अपार्टमेन्टमा बस्दै आएका थिए । सीआईबीले त्यही अपार्टमेन्टबाट पक्राउ गरेको हो ।
को हुन् खड्का ?
दीपक खड्का २०७९ सालमा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
जेनजी आन्दोलन अघि खड्की ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत थिए । आन्दोलनका क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवास नजिकमा रहेको खड्काको निवासमा पनि आगजनी भएको थियो ।
आगजनीको क्रममा उनको घरबाट पैसा उडेको जस्तो देखिने भिडियो भाइरल भएको थियो । त्यससँगै उनीमाथि छानबिनको माग उठेको थियो ।
लगत्तै खड्का सम्पर्कविहीन भएका थिए । अन्तरिम चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘ऊर्जामन्त्री भागेको’ भनेर नयाँपत्रिकामा अन्तर्वार्ता दिएका थिए । कात्तिक ३ गते आफ्नो आगजनी भएको जलेको घर अगाडिबाट उनले आफू नभागेको अभिव्यक्ति दिएका थिए ।
दीपक खड्का मन्त्री ऊर्जा मन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको थियो । विवादकै क्रममा खड्काले प्राधिकरणभित्र ‘मन्त्री कार्यकक्ष’ बनाउन लगाएका थिए ।
घिसिङलाई सरकारले प्राधिकरणबाट हटाएपछि जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा मन्त्री बनेका थिए । मन्त्री बनेपछि घिसिङले खड्काले प्राधिकरणमा स्थापना गर्न लगाएको कार्यकक्ष बन्द गर्न लगाएका थिए ।
स्काउट जग्गामा विवादित
कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लैनचौरस्थित जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको तर भाडा नतिरेको भनेर विवादमा परेका थिए ।
नेपाल स्काउटले खड्काले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा जमिन हडपेको भन्दै त्यो खाली गराउन र ५ करोड ४१ लाख रुपैयाँ भाडा उठाइदिन भन्दै राज्य व्यवस्था तथा सुशासन समितिसँग सहयोग माग गरेको थियो ।
गत २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । सो म्याद सकिएकै दिन काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको निर्देशनमा महानगरपालिकाले डोजर लगाएर त्यहाँका संरचना भत्काएको थियो ।
२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि बालेन प्रधानमन्त्री नियुक्त भएको दुई दिनपछि नै खड्का पक्राउ परेका छन् ।






