काठमाडौं । सर्लाही जिल्लाको बागमती नगरपालिका मेयर भरत कुमार थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै जरिबानाको निर्धारण गरेको हो ।
नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालत काठमाडौँले साउन २१ गते विशेष अदालतले प्रतिवादीहरू मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र अर्का कर्मचारी सागर पौडेल तीनै जनाले भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरको थियो ।
उक्त ताल निर्माणका क्रममा नदीजन्य पदार्थ उत्खनन गरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो । बिहीबार विशेषले तीनै जनालाई सजाय निर्धारण गरेको हो । जसअनुसार उनीहरूलाई ८ वर्ष कैद तोकिएको छ । साथै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ ।







